धनगढी, कैलाली: कैलालीमा प्रहरीले तस्करी नियन्त्रण अभियानअन्तर्गत ठूलो परिमाणमा अवैध सामान बरामद गर्दै एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका–१९ खेदाघाट क्षेत्रबाट भन्सार छली गरी भारतबाट ल्याइएको डिजेलसहित भारतीय नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारतको सुडा बस्ने ३५ वर्षीय उमेश गुप्ता रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले बिहीबार साँझ करिब २ लाख ५८ हजार ८ सय रुपैयाँ बराबरको डिजेल र मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएको हो। बरामद सामग्रीसहित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, कैलालीका विभिन्न स्थानमा गरिएको अर्को कारबाहीमा भन्सार छली गरी ल्याइएका विभिन्न सामान बेवारिसे अवस्थामा फेला पारिएको छ। धनगढी–३ नेशनल ट्रेडिङ नजिकबाट करिब २ लाख १० हजार १०० रुपैयाँ बराबरका बिडी, सुर्ती, प्लास्टिक झिल्ली, बोइलर कुखुरा र एक मोटरसाइकल प्रहरीले बरामद गरेको हो।
प्रहरी गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्