झापा- झापाको दमक नगरपालिका वडा नं. ८ लक्ष्मीमार्ग टोलका ४२ वर्षीय बैंकर पिताम्बर खड्का मृत फेला परेका छन्।
ग्लोबल आइएमई बैंकको विराटनगर शाखामा कार्यरत खड्काले सामाजिक सञ्जाल फेसबुकमा चार जनाको फोटो पोष्ट गरेको केही बेरमै आत्महत्या गरेका हुन्।
प्रहरीका अनुसार खड्काले दिपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको सामूहिक फोटो फेसबुकमा सार्वजनिक गरेका थिए।

उक्त पोष्टमा उनले उनीहरूकै कारण आफू आत्मघाती कदम चाल्न बाध्य भएको आशय व्यक्त गरेका थिए। फेसबुकमा स्टाटस राखेको केही समयपछि उनले आफ्नै घरको भुइँतलाको कोठामा रहेको सिलिङ फ्यानको हुकमा प्लास्टिकको पासो लगाई झुण्डिएर आत्महत्या गरेको पाइएको छ।
घटना साँझको करिब ५ बजेतिर भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। मृतकका बुवा महेश खड्काले छोरालाई झुण्डिएको अवस्थामा देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए।
खबर पाएलगत्तै प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोलीले घटनास्थल पुगेर मुचुल्का तयार गरी आवश्यक अनुसन्धान सुरु गरिसकेको छ।
दमक–८ का वडा अध्यक्ष धर्मप्रसाद दाहालका अनुसार मृतकको शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ। प्रहरीले घटनाको मुख्य कारण र परिस्थितिबारे थप गहन अनुसन्धान भइरहेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्