धनगढी। अत्तरियास्थित दुर्गालक्ष्मी स्कुल मा देखिएको व्यवहारले शिक्षा संस्थाको नाममा भइरहेको अमानवीयता उदांगो बनाएको छ। अभिभावकविहीन, अभावमा हुर्किएको एक बालकलाई भर्ना गराउन पुगेको अवस्थामा विद्यालय प्रशासनले देखाएको असंवेदनशीलता अहिले आलोचनाको केन्द्र बनेको छ।सामाजिक अभियन्ता कल्पना भट्ट ले आफ्नो सामाजिक सञ्जालमार्फत उक्त घटना सार्वजनिक गरेपछि विषय चर्चामा आएको हो।
बुवा बेपत्ता र आमा क्यान्सरका कारण गुमाएका ती बालक दिदीहरू संस्थागत सहयोगमा पढिरहेका भए पनि आफु भने अभावका कारण पढाइबाट टाढा थिए। उनलाई विद्यालयमा भर्ना गराउन ल्याउँदा गेटमै रोक लगाइयो , पहिरनकै आधारमा अपमानजनक शब्द प्रयोग गरियो। “यस्तो लुगा लगाएर हाम्रो स्कुलमा के पढ्ला?” भन्ने अभिव्यक्तिले विद्यालयको सोच र स्तर दुवै प्रष्ट पारेको स्थानीयको आरोप छ।
अझ लाजमर्दो कुरा त के भने, बालकको पीडादायी अवस्था सुनाउँदा समेत विद्यालय प्रशासनले कुनै मानवीय संवेदना नदेखाई “भर्ना बन्द भयो” भन्दै पन्छिएको बताइएको छ। शिक्षाको मन्दिर मानिने स्थानमा यस्तो कठोरता देखिनु गम्भीर प्रश्न हो।
घटनापछि बालक आँसु थाम्न नसकी “पाइन्ट नलगाएको भएर होला” भन्दै फर्किएको दृश्यले जो कोहीको मन चिरिन्छ। गरिबी र अभावलाई नै अपराध ठान्ने यस्तो सोचले समाजलाई कता लैजाँदैछ भन्ने प्रश्न उठेको छ।
शिक्षा दिने संस्था भएर पनि संवेदना, सहानुभूति र मानवता गुमाउनु के यही हो आधुनिक शिक्षाको स्तर? स्थानीयले कडा प्रश्न उठाएका छन् ‘दुर्गालक्ष्मी जस्तो नाम बोकेको विद्यालयले के साँच्चै ‘लक्ष्मी’ होइन, केवल हैसियत हेर्छ?‘
यस घटनाले स्पष्ट पारेको छ अझै पनि समाजमा गरिब, असहाय र बेसहारा बालबालिका सम्मान होइन, अपमान भोग्न बाध्य छन्। सम्बन्धित निकायले यस्ता विद्यालयको व्यवहारमाथि तुरुन्त छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने माग उठ्न थालेको छ।






प्रतिक्रिया दिनुहोस्