बैतडी, वैशाख ३० गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बैतडी जिल्लामा ५१ दशमलव ३९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी ३ हजार ९ सय ३० जनामध्ये २ हजार २० जना उत्तीर्ण भएका हुन् भने १ हजार ९ सय १० जना नन–ग्रेडेड भएका छन् ।
जिल्लाका १ सय ४० विद्यालयका विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए । तीमध्ये २२ जनाले ३ दशमलव ६० देखि ४ जीपीए प्राप्त गरेका छन् । यस्तै, ३ दशमलव २० देखि ३ दशमलव ६० जीपीए ल्याउने विद्यार्थीको संख्या २ सय १२ रहेको शिक्षा विकास तथा समन्वय इकाई बैतडी का निमित्त प्रमुख पुष्करराज शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार २ दशमलव ८० देखि ३ दशमलव २० जीपीए ल्याउने विद्यार्थी ७ सय ९२ जना रहेका छन् । त्यसैगरी २ दशमलव ४० देखि २ दशमलव ८० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ सय ६९ रहेको छ भने २ देखि २ दशमलव ४० जीपीए ल्याउने विद्यार्थी १ सय २५ जना रहेका छन् ।
गत वर्षको तुलनामा यस वर्ष बैतडीको एसइई नतिजा केही कमजोर देखिएको छ । गत वर्ष जिल्लामा ५२ दशमलव २९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।
सोमबार सार्वजनिक गरिएको एसइई नतिजाअनुसार देशभर ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष देशभर ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।




प्रतिक्रिया दिनुहोस्