श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले नेपाल विकास नहुनुमा नेपालीहरूको भ्रष्ट र ग्रसित मानसिकताको उपज रहेको तर्क गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष साम्पाङले भने, ‘हाम्रो नियत ठीक नभएकाले उन्नति प्रगति गर्न नसकिएको हो । कर्मचारीतन्त्रदेखि हामी राजनीति गर्ने व्यक्तिहरूमा रहेको कसरी ठग्ने र भ्रष्टाचार गर्ने भन्ने ग्रसित सोचका कारण हामी पछि परिरहेका छौँ । मौका पायो कि चौका हान्ने हाम्रो गलत सोच छ । यसले गर्दा हाम्रो विकास हुन सकिरहेको छैन ।’
विकासका सवालमा उत्तरतर्फको छिमेकीले नेपाललाई २०० वर्ष पछि पारिसकेको बताउँदै साम्पाङले दक्षिणतर्फको अर्को छिमेकीले समेत नेपाललाई कम्तीमा ८० वर्ष पछाडि पारिसकेको बताए ।
नेपालीहरू बिनास्रोतका सम्पत्ति जोड्ने, भ्रष्टाचार गर्नेतर्फ उद्यत रहेको तर्क गर्दै साम्पाङले आर्थिक भ्रष्टारसँगै देशमा व्याप्त नीतिगत भ्रष्टाचार भइरहेको बताए । साथै, अधिकांश नेपालीहरू प्रत्येक्ष, अप्रत्येक्ष रूपमा ठगीका क्रियाकलापमा संलग्न भइरहेको पनि उनले बताए ।




प्रतिक्रिया दिनुहोस्