काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुकुम्वासी बस्ती हटाउन सरकारले अपनाएको शैली पञ्चायती शासनको बेलाको जस्तो भएको टिप्पणी गरेका छन् । मंगलबार (वैशाख २९) बसेको प्रतिनिधिसभा बैठकमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार बनाएपछि गरेका निर्णय गरिबी र सुकुम्वासीविरुद्ध रहेको बताएका हुन् ।
उनले सरकारको नीति तथा कार्यक्रम पनि समावेशी प्रतिनिधित्व र संविधानको भावनाबाट टाढा रहेको जिकिर गरे । “नीति तथा कार्यक्रममा आदिवासी जनजाति, दलित, महिला, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्रलाई बेवास्ता गरिएको छ । सरकाका पछिल्ला गतिविधिले यो स्वभाविक देखिएको छ,” प्रचण्डले भने, “गरिब र सुकुम्वासीका बस्ती हात्ती लगाएर भत्काउने पञ्चायती परम्परालाई पछ्याउन खोजेको त हैन भन्ने प्रश्न उठाएको छ ।”
पञ्चायती निरंकुशताले जनतामा दमन गरेको झझल्को सुकुम्वासी बस्तीमा सरकारले चलाएको डोजरले दिइरहेको उनको टिप्पणी थियो । उनले गरिब र सुकुम्वासी विकासका बाधक हुन् भन्ने गलत धारणा त्याग्न रास्वपा र सरकारलाई आग्रह गरे ।
“गरिबहरू विकासका बाधक होइनन्, सुकुम्वासीहरू विकासका अवरोधक पनि होइनन्,” उनले भने, “उनीहरू समेतको व्यवस्थापनबाट विकास गर्न सकिन्छ भनेर संविधानमा आवासको हक राखिएको छ ।”
गणतन्त्र ल्याउन र रास्वपालाई हालको स्थानसम्म पुर्याउन मुख्य भूमिका गरिब, निमुखा र सुकुम्वासीको रहेको भन्दै उनले यसलाई नजरअन्दाज गर्ने गल्ती नगर्न आग्रह गरे ।




प्रतिक्रिया दिनुहोस्