काठमाडौं : प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले उभिएर विरोध जनाएका छन्।
सोमबार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह बीचमै उठेर बाहिरिएको घटनालाई लिएर कांग्रेसले संसदमा कडा आपत्ति प्रकट गरेको हो।
बैठकको प्रारम्भमै कांग्रेस सांसदहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले कांग्रेस सांसद बाचना थापालाई बोल्नका लागि समय दिएका थिए।संसदमा बोल्दै सांसद बाचना थापाले प्रधानमन्त्रीको कदमलाई संसदीय मर्यादा र संवैधानिक संस्कार विपरीतको कार्य भएको बताइन्।
उनले भनिन्, ‘लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो हामीले देख्यौँ। राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु यो सामान्य दृश्य होइन।’
थापाले यो घटनाले संवैधानिक संस्कार, संसदीय परम्परा र राज्यप्रतिको उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाएको तर्क गर्नुभयो। ‘लोकतन्त्रमा पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हुन्छ’, उनले थपिन्।
नेपाली कांग्रेसले यस विषयमा सरकारसँग तत्काल स्पष्ट जवाफ माग गरेको छ। सांसद थापाले भविष्यमा यस्ता घटना दोहोरिन नहुने भन्दै प्रधानमन्त्रीको तर्फबाट सदनमा स्पष्टीकरण आउनुपर्ने माग गरिन्।
उनले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन सरकारको ध्यानाकर्षण गराइन्।
प्रधानमन्त्री शाहको यो कदमको विरोध गर्ने कांग्रेस एक्लो दल भने होइन। यसअघि आइतबारको बैठकमै सत्ता एमाले सांसदले समेत प्रधानमन्त्रीको यो व्यवहारको कडा आलोचना गरेका थिए।




प्रतिक्रिया दिनुहोस्