धनगढी । कैलाली उद्योग वाणिज्य संघले त्रिनगर–गौरीफन्टा नाकामा अनुगमन गरेको छ । एक सय रुपैयाँ बढीको सामान स्थलमार्ग भएर आयात गर्दा भन्सार लाग्ने नियम कार्यान्वयनको अवस्था बुझ्न संघको टोली आज बिहान नाकामा पुगेको हो । अनुगमनका क्रममा भारतीय सीमावर्ती बजारमा किनमेलका लागि जाने नेपालीको संख्या ८० देखि ९० प्रतिशतले घटेको पाइएको संघका अध्यक्ष पुष्करराज ओझाले बताए । ‘सशस्त्र प्रहरी र पारितर्फ एसएसबीसंग पनि हामीले कुराकानी ग¥यौं,’ ओझाले भने, ‘उहाँहरुले पनि रोजगारीका लागि जाने र आउने क्रमबाहेक ९० प्रतिशतले किनमेलका लागि जाने आवागमन घटेको बताउनुभएको छ ।’
ओझाले भन्सार नाकामा मात्रै नभएर खुला सीमानाको फाइदा उठाउँदै हुने सामान आयातलाई पनि रोक्न सबै निकायले कडाइ गर्नुपर्ने बताए । सामान आयातमा भन्सार लगाएर मात्रै दिगो समाधान नहुने बताउँदै ओझाले देशमै उत्पादन बढाउने वातावरण सरकारले बनाउनुपर्ने बताए । ‘स्वदेशमै उत्पादन बढाउन सकियो भने सस्तोमा उपभोक्तालाई सामान दिन पनि सकिन्छ,’ उनले भने, ‘रोजगार पनि बढ्छ । देशको अर्थतन्त्र पनि चलायमान हुन्छ ।’
कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशीले एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार कर तिर्नुपर्ने व्यवस्था कार्यान्वयन भएपछि संघले स्वागत गरिसकेको बताए । नेपाली व्यवसायीहरूले यस व्यवस्थालाई अवसरको रूपमा लिएको बताउँदै जोशीले उपभोक्ताहरुलाई गुणस्तरीय सामान सुपथ मूल्यमा पारदर्शी ढंगले उपलब्ध गराउनको निम्ती आग्रह गरिएको बताए । यस्तै, संघको टोलीले कैलाली भन्सार कार्यालयसंग पनि भन्सार छली नियन्त्रणका विषयमा छलफल गरेको छ ।
भन्सार महसुल ऐन, २०८१ मा स्थलगमार्ग भएर भारताबाट सय रुपैयाँ बढीको सामान आयात गर्दा कर तिर्नुपर्ने व्यवस्था छ । नयाँ सरकार आएपछि सो व्यवस्था कडाइका साथ लागू गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्