शेखर गोल्छा : छवि दानवीरको तर धन्दा…

काठमाडौं । बाहिरबाट हेर्दा लाग्छ, नेपालका प्रतिष्ठित उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा समाजसेवामा निकै तल्लीन छन् । केही साताअघि मात्रै उनी नेतृत्वको गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माणका लागि ५ करोड रुपैयाँ आर्थिक सहयोग गरेको विषय सार्वजनिक भएको थियो । मूलधारका सञ्चारमाध्यमले गोल्छाको निकै तारिफ गर्दै समाचार पनि छापेका थिए ।

shekhar_Bhagwan.jpg

यद्यपि, त्यो दानवीर छविको पछाडि लुकेको धन्दाको सार्वजनिक फेहरिस्त भने निकै कुरूप र भयावह देखिएको छ । समाजसेवाको आवरणमा उनीमाथि नेपालको अर्थतन्त्रमै गम्भीर धक्का पुग्ने गरी शृङ्खलाबद्ध आर्थिक अपराध, शेयर बजारको अनियमितता र सम्पत्ति शुद्धीकरणको आरोप लागेको छ ।

४ अर्बको शेयर घोटाला र ५२ करोडको बक्यौता

नेपाल धितोपत्र बोर्डले तयार पारेर अनुसन्धानकारी निकायमा पेस गरेको प्रतिवेदन ‘धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन–२०८३ ’ले गोल्छा जोडिएको वित्तीय अपराधको पर्दाफास गरेको छ । धितोपत्र बजारमा करिब ४ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार अनियमितता प्रकरणमा उनी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मुछिएका छन् ।

प्रतिवेदनअनुसार, भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत उधारोमा शेयर खरिद गरी उनले करिब ५२ करोड ५० लाख रुपैयाँ बराबरको बक्यौता रकम लामो समयदेखि तिरेका छैनन् । बिचौलिया समूहसँग मिलेर विभिन्न ब्रोकर कम्पनी तथा वित्तीय संरचनाहरूको दुरुपयोग गर्दै गरिएको यो कसुरमा बोर्डले आवश्यक कानुनी कारबाही अघि बढाउन सिफारिस गरेको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा पठाउने निष्कर्ष प्रतिवेदनले निकालेको छ ।

golcha.jpg

हिमालयन रिइन्स्योरेन्स र सम्पत्ति शुद्धीकरणको अनुसन्धान

गोल्छा शेयर बजारको बक्यौता विवादको विषयमा मात्रै मुछिएका छैनन् । उनी हिमालयन रिइन्स्योरेन्स लिमिटेडका संस्थापक अध्यक्ष हुन् । तर, भर्खरै (२०८२ फागुन २५ गते) उनले उक्त पदबाट रहस्यमय ढंगले राजीनामा दिए ।

यसको भित्री कारण हो– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुरु गरेको गम्भीर छानबिन । भर्खरै सञ्चारमाध्यमहरूले खुलासा गरेअनुसार करिब ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको अवैध फन्ड ट्रान्सफर र शेयर बजार म्यानुपुलेसन प्रकरणमा अनुसन्धानको सुई उनी र उनको समूहतिर सोझिएको छ । हिमालयन रिइन्स्योरेन्ससहितका कम्पनीहरूको रकम दुरुपयोग गरेर प्रतिस्पर्धी कम्पनीको शेयर किन्ने र बजारमा कृत्रिम मूल्य बढाउने खेलमा जोडिएपछि उनले हतार–हतार पद छाडेका हुन् ।

प्रवृत्ति पुरानै

गोल्छा परिवारको वैदेशिक लगानीको सम्बन्धलाई लिएर खोज पत्रकारिता केन्द्र, नेपाल र अन्तर्राष्ट्रिय खोज पत्रकार केन्द्रले ‘पानामा पेपर्स’ र ‘नेपालिक्स’ मार्फत केही वर्ष अगाडि ठूलो खुलासा गरेका थिए । खोज पत्रकारिता केन्द्र, नेपाल र अन्तर्राष्ट्रिय खोज पत्रकार केन्द्रले सन् २०१९ मा सार्वजनिक गरेको ‘नेपालिक्स’ (नेपालसँग सम्बन्धित अफसोर लगानीको खुलासा) मा गोल्छा परिवारका मुख्य सदस्यहरूको नाम ‘ट्याक्स हेभन’ (कर छलीका लागि सुरक्षित मानिने मुलुक) मा लगानी गरेको फेला परेको थियो ।

खोज पत्रकारिता केन्द्रको रिपोर्टअनुसार, शेखर गोल्छाका दाजु लोकमान्य गोल्छा, भतिजा दिनेश गोल्छा र परिवारका अन्य सदस्यहरूको नाममा ब्रिटिस भर्जिन आइल्याण्ड्स जस्ता देशमा कम्पनी दर्ता भएको पाइएको थियो । शेखर गोल्छा संलग्न रहेको गोल्छा अर्गनाइजेसनका सदस्यहरूले ‘फ्ल्याटल्याण्ड बिजनेस इंक’ नामक कम्पनीमा लगानी गरेको देखिएको थियो । यो कम्पनी पानामाको ‘मोज्याक फोन्सेका’ मार्फत दर्ता गरिएको थियो, जुन पानामा पेपर्सको मुख्य स्रोत हो ।

पानामा पेपर्सको रिपोर्टले के खुलाएको थियो भने, गोल्छा परिवारले नेपालको पैसा पहिले अवैध बाटोबाट विदेश पुर्‍याएका थिए । त्यसपछि सोही पैसालाई ’विदेशी लगानी’ को नाममा पुनः नेपाल भित्र्याएका थिए । यसलाई आर्थिक भाषामा ’राउन्ड ट्रिपिङ’ भनिन्छ । यसो गर्नुको मुख्य उद्देश्य कालो धनलाई सेतो बनाउनु र विदेशी लगानीकर्ताले पाउने ट्याक्स छुट तथा सुविधा भोग गर्नु थियो ।

हुलासचन्द एण्ड हंसराज कम्पनी र शेखर गोल्छाको प्रत्यक्ष संलग्नता रहेका फर्महरूले ती अफसोर कम्पनीहरूसँग शंकास्पद कारोबार गरेको अनुसन्धानले देखाएको थियो । पानामा पेपर्सको लिस्टमा गोल्छा परिवारका सदस्यहरू शेयरधनीका रूपमा स्पष्ट देखिएका थिए । पानामा पेपर्समा जुन शैली अपनाइएको थियो, अहिलेको ४ अर्बको शेयर बजार अनियमितता र हिमालयन रि–इन्स्योरेन्स को काण्डमा पनि त्यस्तै शैली देखिन्छ । 

सम्बन्धित समाचारकाे लिंक- https://np.cijnepal.org/detail/10498

पानामा पेपर्समा जस्तै अहिले पनि बिचौलिया समूह र विभिन्न ‘लेयर’ बनाएर शेयर बजारमा पैसा खेलिएको छ । पानामा पेपर्समा ट्याक्स छली मुख्य मुद्दा थियो भने अहिले ५२ करोड ५० लाखको बक्यौता र अर्बौंको अवैध कारोबारमार्फत सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विभागले अनुसन्धान गरिरहेको छ ।

पानामा पेपर्समा गोल्छा परिवारका सदस्यहरूका नाममा विदेशमा कम्पनी खोलिएको थियो । अहिले पनि उनका सबै परिवार विदेशमा हुनु र नेपालमा अर्बौंको दायित्व सिर्जना गरेर भुक्तानी नगर्नुले ‘पुँजी पलायन’को बलियो आधार दिन्छ ।

धितोपत्र बोर्डको प्रतिवेदन र सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानले गोल्छाका गतिविधिहरू कानुनको परिधिभन्दा बाहिर गइसकेको प्रस्ट पारेका छन् । राज्यका निकायहरूले यी सबै प्रकरण (४ अर्बको शेयर घोटाला, ३.७३ अर्बको सम्पत्ति शुद्धीकरण प्रकरण र सम्भावित पुँजी पलायन) लाई एकमुष्ट रूपमा गहिरो अनुसन्धान नगरेसम्म वास्तविकता बाहिर आउन सक्दैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार