धनगढी — सुनसरीको देवानगन्जमा भएको घटनाको विरोधमा विश्व हिन्दु परिषद् सुदूरपश्चिम प्रदेशले शुक्रबार धनगढी उपमहानगरपालिका–१८ फुलवारीस्थित आदर्श चोकमा श्रद्धाञ्जली तथा विरोध कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा परिषद्का लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेश सचिव धनुशधारी पाण्डेको नेतृत्वमा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सचिव पाण्डेले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामना गरे। उनले धर्मका नाममा हुने हिंसात्मक गतिविधि स्वीकार्य नभएको उल्लेख गर्दै सबै समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिए।
उनले यस्ता घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने, दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइनुपर्ने र समाजमा धार्मिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे। साथै, सनातन धर्मावलम्बीहरूले आफ्नो धर्म, संस्कृति र चाडपर्व निर्वाध रूपमा मनाउन पाउनुपर्ने उनको भनाइ थियो।
कार्यक्रमका सहभागीहरूले विभिन्न नाराबाजीसमेत गरेका थिए। उनीहरूले हिन्दु राष्ट्र पुनःस्थापना, धर्मनिरपेक्षता खारेज तथा मुस्लिम आयोग खारेज गर्नुपर्ने मागसहितका नारा पनि लगाएका थिए।




प्रतिक्रिया दिनुहोस्