काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को अक्सनमा टोलीहरूले करोडौँ रुपैयाँ खर्च गरेर ठूला खेलाडीहरूलाई आफ्नो टोलीमा समावेश गर्छन्।
तर चोटपटक वा टोली संयोजन जस्ता कारणले धेरै महँगा खेलाडीहरूले प्लेइङ–११ मा स्थान बनाउन सकेका छैनन्।
जारी सिजनको करिब एक–तिहाइ खेलहरु सम्पन्न भइसकेका छन् भने सबै टोलीहरूले कम्तीमा पाँच खेल खेलिसकेका छन्। त्यसपछि पनि एक करोड वा सोभन्दा बढी मूल्यका ४१ खेलाडी यस्ता छन्, जसले एक खेल पनि खेलेका छैनन् वा केवल एक–दुई खेलमा मात्र सीमित भएका छन्।
यस सिजनमा कम मूल्यका खेलाडीहरूले बढी अवसर पाइरहेका छन् भने महँगा खेलाडीहरू बेन्चमै बसिरहेका छन्। यसको परिणामस्वरूप टोलीहरूको बेन्च शक्तिमा खर्च गरिएको कुल रकम २०० करोड रुपैयाँ नाघिसकेको छ।
महँगो बेन्च हुनुको अर्थ टोलीहरूले आफ्ना स्रोतहरूको उचित उपयोग गर्न नसकेको देखिन्छ, जसले प्रदर्शनमा पनि असर पारेको छ।
सनराइजर्स हैदराबादका सबैभन्दा धेरै अर्थात् ३४ करोड रुपैयाँका खेलाडी बेन्चमा छन्।
लखनउ सुपर जायन्ट्सका ३३.२० करोड रुपैयाँ, दिल्ली क्यापिटल्सका २९.९५ करोड रुपैयाँ, चेन्नई सुपर किंग्सका २९.७० करोड रुपैयाँ र कोलकाता नाइट राइडर्सका २३ करोड रुपैयाँका खेलाडी बेन्चमा रहेका छन्।
यता, मुम्बई इन्डियन्सका केवल ६.२५ करोड रुपैयाँका खेलाडी बेन्चमा भए पनि टोली अंकतालिकाको नवौँ स्थानमा छ।
‘इम्प्याक्ट खेलाडी’ नियमका कारण टोलीहरूले ११ को सट्टा १२ खेलाडी प्रयोग गरिरहेका छन्।
केही स्टार खेलाडीहरूलाई ‘अलराउन्डर’ का रूपमा महँगो मूल्यमा किनिएको भए पनि, ब्याटिङ वा बलिङमध्ये कुनै एक पक्षमा कमजोर हुँदा उनीहरू सिधै बेन्चमा परिरहेका छन्।
यी खेलाडीहरु जसले नियमित खेल्न पाएका छैनन्। धेरैजसोले एक खेल पनि खेलेका छैनन्।
१८ करोड मूल्यका मथिसा पथिराना (कोलकाता नाइट राइडर्स) र प्याट कमिन्स (सनराइजर्स हैदराबाद)ले एक खेल पनि खेलेका छैनन्।
चेन्नईका १४.२ करोड मूल्यका प्रशान्त वीरले दुई खेलमात्रै खेलेका छन्। हैदराबादका १३ करोड मूल्यका लियाम लिभिङ्स्टोनले एक खेलमात्र खेलेका छन् भने दिल्लीका मिचेल स्टार्क जसलाई टोलिले ११.७५ करोडमा किनेको थियो उनले एक खेल पनि खेलेका छैनन्।
लखनउका ११ करोड मूल्यका मयंक यादव र सोही टिमका ८.६० करोडका जोस इंग्लिसले पनि खेलेका छैनन्।
दिल्लीका ८.४० करोडका आकिश नबीले पनि दुई खेलमात्रै खेलेका छन् भने गुजरातका ७ करोड मूल्यका जेसन होल्डले एक खेल पनि खेलेका छैनन्।




प्रतिक्रिया दिनुहोस्