इरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सको नौसेनाले होर्मुज जलडमरू मध्य बन्द गरिएको घोषणा गरेको छ । इरानले यस जलमार्गबाट पार गर्न खोज्ने कुनै पनि जहाजलाई निशाना बनाइने चेतावनी दिएको छ । इरान–अमेरिकाको समझदारीमा नाटकीय परिवर्तन आएसँग इरानले महत्वपूर्ण समुद्री मार्ग २४ घण्टा नबित्दै पुनः बन्द गरेको हो ।
इरानको स्टुडेन्ट न्युज एजेन्सीमार्फत जारी गरिएको वक्तव्यमा गार्ड कोप्र्स नौसेनाले अमेरिकाले इरानी जहाज र बन्दरगाहमाथि लगाएको नाकाबन्दी हटाएसम्म जलडमरू मध्य बन्द रहने बताएको छ । उक्त नाकाबन्दीलाई उसले अमेरिका–इजरायल युद्धमा भएको युद्धविराम सम्झौताको उल्लङ्घन भनेको छ ।
‘हामी चेतावनी दिन्छौँ कि कुनै पनि जहाजले पर्सियन खाडी वा ओमान सागरबाट आफ्नो स्थानबाट अघि बढ्न हुँदैन । होर्मुज जलडमरू मध्य नजिकिनु शत्रुसँग सहकार्य मानिनेछ र त्यस्तो जहाजलाई निशाना बनाइनेछ’, वक्तव्यमा भनिएको छ ।
इरानका संसद् सभामुख तथा अमेरिका–तेहरान वार्ताका वरिष्ठ वार्ताकार मोहम्मद बाघेर गालिबाफले एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन्, ‘होर्मुज जलडमरू मध्य इस्लामिक गणतन्त्र इरानको नियन्त्रणमा छ ।’ उनले थपे, ‘अमेरिकाले केही दिनदेखि नाकाबन्दी घोषणा गरिरहेको छ । यो एक अपरिपक्व र अज्ञानपूर्ण निर्णय हो ।’
यो पुनः नियन्त्रणको घोषणा केही घण्टामै आएको हो, जब इरानले इजरायल–लेबनानबीचको १० दिने युद्धविराम अनुसार जलडमरू मध्य अस्थायी रूपमा खोलेको थियो । इरानका विदेश मन्त्री अब्बास अराघचीले शुक्रबार ‘सबै व्यापारिक जहाजका लागि मार्ग पूर्ण रूपमा खुला छ’ भनेपछि विश्व बजारमा तेलको मूल्य घटेको थियो ।
एक दर्जनभन्दा बढी व्यापारिक जहाजहरूले जलमार्ग पार गरिसकेपछि गार्ड कोप्र्सले आफ्नो निर्णय उल्ट्याएको हो । बेलायतको युनाइटेड किङ्डम मेरिटाइम ट्रेड अपरेशन्स का अनुसार शनिबार इरानी गनबोटहरूले दुईवटा व्यापारिक जहाजमाथि गोली चलाएका थिए । भारतको परराष्ट्र मन्त्रालयले पनि दुई भारतीय झण्डा भएका जहाजहरू उक्त ‘गोलीकाण्ड’ मा परेको जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्