कैलाली- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिल कुमार जोशीले विश्वविद्यालयको स्थापना तथा सञ्चालनको पहिलो १०० दिनमा हासिल गरेका प्रमुख उपलब्धि तथा प्रगति विवरण सार्वजनिक गरेका छन् । २०८२ पुस २३ गते उपकुलपति तथा रजिस्ट्रारको पदभार ग्रहण गरेपछि छोटो समयमै संस्थागत संरचना निर्माण, नीतिगत व्यवस्था, शैक्षिक तयारी र पूर्वाधार सुधारका क्षेत्रमा उल्लेखनीय काम भएको उनले बताए।
उपकुलपति प्रा. डा. जोशीले भने, ‘यो छोटो अवधिमा हामीले संस्थागत ढाँचा निर्माण, शैक्षिक तथा अनुसन्धानमुखी दिशा निर्धारण र स्वास्थ्य सेवा विस्तारको स्पष्ट खाका तयार पारेका छौं । आगामी दिनमा यी प्रगतिलाई मूर्त रूप दिँदै शिक्षण कार्यक्रम सुरु गर्न, पाठ्यक्रम कार्यान्वयन गर्न र प्रभावकारी प्रशासन स्थापित गर्न निरन्तर प्रयास गरिनेछ।’
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य विज्ञानको केन्द्र बन्ने र देशभरका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा तथा अनुसन्धानको अवसर प्रदान गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ । यसले चिकित्सा शिक्षा प्रणालीलाई थप मजबुत र समावेशी बनाउने अपेक्षा गरिएको छ ।
१. प्रमुख उपलब्धि तथा गतिविधिहरू
(क) नेतृत्व स्थापना र सुरुवात
मिति २०८२/०९/२३ गते उपकुलपति प्रा. डा. सुनिल कुमार जोशी र रजिस्ट्रार डा. खेम राज जोशीको नियुक्ति तथा शपथग्रहण सम्पन्न भएको थियो । यससँगै विश्वविद्यालयको औपचारिक नेतृत्व स्थापना भई कामको थालनी भएको छ ।
(ख) पूर्वाधार तथा प्राविधिक विकास
विश्वविद्यालयको आधिकारिक वेबसाइट निर्माण तथा सञ्चालनमा ल्याइएको छ ।
विश्वविद्यालय परिसरको सरसफाइ, व्यवस्थापन र पूर्वाधार सुधार कार्य तीव्र रूपमा अघि बढाइएको छ ।
केन्द्रीय प्रशासन भवन तथा आवास व्यवस्थापनको काम सम्पन्न गरिएको छ ।
(ग) शैक्षिक कार्यक्रम सञ्चालन तयारी
पाठ्यक्रम निर्माणका लागि मस्यौदा समिति गठन गरी सातवटा कार्यक्रमका लागि प्रारूप तयार पारिएको छ । ती कार्यक्रमहरू निम्नानुसार छन्:
१. चिकित्साशास्त्र स्नातक तथा शल्यचिकित्सा स्नातक (Bachelor of Medicine and Bachelor of Surgery – MBBS)
२. दन्तशल्यचिकित्सा स्नातक (Bachelor of Dental Surgery – BDS)
३. नर्सिङ विज्ञान स्नातक (Bachelor of Science in Nursing – B.Sc. Nursing)
४. भौतिक चिकित्सा स्नातक (Bachelor of Physiotherapy – BPT)
५. औषधि विज्ञान स्नातक (Bachelor of Pharmacy – B. Pharm)
६. सार्वजनिक स्वास्थ्य विज्ञान स्नातक (Bachelor of Public Health – BPH)
७. दृष्टि विज्ञान स्नातक (Bachelor of Optometry – B. Optom)
आगामी शैक्षिक सत्र २०८३/०८४ बाट चिकित्साशास्त्र स्नातक तथा शल्यचिकित्सा स्नातक (५० सिट), नर्सिङ (३० सिट), चिकित्सकीय प्रयोगशाला प्रविधि विज्ञान स्नातक (B.Sc. Medical Laboratory Technology – B.Sc. MLT, २० सिट) र दृष्टि विज्ञान स्नातक (२० सिट) कार्यक्रम सञ्चालन गर्न आवश्यक प्रक्रिया थालनी गरिएको छ । चिकित्सा शिक्षा आयोगमा स्वमूल्यांकन फाराम (Self Appraisal Form) पेश गरिसकिएको छ ।
(घ) नीतिगत तथा संरचनात्मक विकास
विश्वविद्यालय सञ्चालनका लागि विभिन्न नियमावलीको मस्यौदा समिति गठन गरिएको छ । यी नियमावलीहरू हुन्:
- शिक्षक तथा कर्मचारी नियमावली
- आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली
- खरीद नियमावली
- अनुसन्धान केन्द्र नियमावली
- विषय समिति नियमावली
- विश्वविद्यालयको सांगठनिक संरचना, झण्डा र छाप सम्बन्धी व्यवस्था
- संगठन तथा व्यवस्थापन सर्वेक्षण
नियमावली सम्बन्धी कार्यशाला तथा गोष्ठी आयोजना गरिएका छन् । नेपाल सरकारको अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त गरी विश्वविद्यालयको चौथो सभाबाट यी नियमावलीहरू पारित भएका छन् ।
(ङ) मानव संसाधन व्यवस्थापन
प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदका लागि विज्ञापन प्रकाशित गरिएको छ । १७ जना करार शिक्षक छनौट कार्यविधि निर्माण गरिएको छ । निर्वाचन आयोगबाट आवश्यक सहयोग प्राप्त गरी प्रक्रिया अघि बढाइएको छ ।
(च) प्रशासनिक तथा वित्तीय पहल
- गेटा मेडिकल कलेजको बजेट विश्वविद्यालय अनुदान आयोगबाट विश्वविद्यालयमा हस्तान्तरणका लागि पहल गरिएको छ ।
- सम्पत्ति तथा दायित्व हस्तान्तरण र कर्मचारी व्यवस्थापन प्रक्रिया अगाडि बढाइएको छ ।
- आगामी आर्थिक वर्षका लागि रु. २ अर्ब ५३ करोड बजेट प्रस्ताव गरिएको छ ।
- चालु आर्थिक वर्ष २०८२/८३ मा शिक्षकहरूको तलबबापत रु. ५ करोडभन्दा बढी रकम नेपाल सरकार अर्थ मन्त्रालयबाट विनियोजन गरिएको छ ।
(छ) छात्रवृत्ति तथा स्रोत सुनिश्चितता
७५ प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्न विशेष पहल गरिएको छ । यसका लागि रु. ७.३९ करोड रकम सुनिश्चित गरिएको छ । यसले सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरूलाई गुणस्तरीय स्वास्थ्य शिक्षा प्राप्त गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।
(ज) संस्थागत गतिविधि
विश्वविद्यालय सभाको चौथो बैठक सम्पन्न भई आवश्यक निर्णयहरू गरिएका छन् ।
२. संस्थागत विकास र सञ्चालन
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ बमोजिम औपचारिक सञ्चालन थालिएको छ । सभा, कार्यकारी परिषद् तथा विभिन्न समितिहरू गठन गरी संस्थागत संरचना सुदृढीकरण गरिएको छ ।
३. स्वास्थ्य सेवा तथा शिक्षा विस्तार योजना
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पताललाई यथासिघ्र ३०० बेडमा स्तरोन्नति गर्ने योजना छ ।
- स्कूल अफ हेल्थ साइन्सेज अन्तर्गत बेसिक साइन्स विभागहरूका ल्याबहरू सेटअप गर्ने काम अघि बढाइने छ ।
- Satellite Health Center स्थापना, टेलिमेडिसिन सेवा र Cath Lab सञ्चालनको तयारी गरिएको छ ।
४. वित्तीय व्यवस्थापन तथा बजेट
चालु आर्थिक वर्ष २०८२/८३ को बजेट: रु. ४९ करोड १३ लाख ।
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित बजेट: रु. २ अर्ब ५३ करोड ।
विभिन्न स्रोतबाट आय सुनिश्चित गर्ने प्रयास जारी छ ।
५. नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय
विश्वविद्यालयले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी विभिन्न अस्पतालहरूसँग सम्झौता गर्न पहल गरेको छ । यसले स्वास्थ्य सेवा विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
६. समग्र उपलब्धि र भावी दिशा
पहिलो १०० दिनमा विश्वविद्यालयले नेतृत्व स्थापना, संस्थागत संरचना सुदृढीकरण, शैक्षिक कार्यक्रम तयारी, नियमावली निर्माण, मानव संसाधन व्यवस्थापन, वित्तीय व्यवस्था र पूर्वाधार सुधारका क्षेत्रमा आधारभूत तर महत्त्वपूर्ण प्रगति हासिल गरेको छ ।




प्रतिक्रिया दिनुहोस्