काठमाडौं । राजनीतिक विश्लेषक मुमाराम खनालले नेपाली कांग्रेस लोकतान्त्रिक ‘जिन’ जोगाएको पार्टी भएको बताएका छन् । नेपाली कांग्रेसको प्रचार विभागले सञ्चालन गरेको ‘गैरकांग्रेसको नजरमा कांग्रेस’ डबली बहस शृंखलामा सोमबार (माघ १९) सहभागी भएका खनालले जिन जोगाएको पार्टीले देशलाई प्रतिनिधि गर्ने हैसियत पनि राख्ने बताए ।
कांग्रेसलाई तुलनात्मक रूपमा चरित्र जोगाउने पार्टीका रूपमा आफूले मूल्यांकन गरेको उनको भनाइ थियो ।
कम्युनिस्ट पार्टीको प्रशिक्षणका क्रममा आफूहरूलाई कांग्रेसलाई प्रमुख दुस्मन भनेर चिनाइए पनि आफूले भने फरक पाएको बताए । उनले खुलापनसहितको संगठन भएको पार्टीले रूपान्तरण गर्न सक्दैन भन्ने दृष्टिकोण पनि आफैँले बुझेपछि परिवर्तन भएको बताए ।
पहिले कांग्रेसप्रतिको सामाजिक आकर्षणलाई ‘जड सोच’ भन्ने गरेकामा पछि यसको खुकुलो संरचनाले आकर्षण गरेको उनको भनाइ थियो । जेनजी आन्दोलनपछि कांग्रेसले लिएको बाटोलाई आफूले समर्थन गरेको खनालको धारणा थियो ।
कांग्रेसको खुकुलो संरचनाले निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तनको प्रयास गरे पनि कम्युनिस्ट दबाबमा अल्झिएको टिप्पणी गरे ।
“कांग्रेसले रुपान्तरणको पर्यत्न गरिरहेको थियो । तर, वामपन्थी दबाबमा उसले फक्रने मौका पाएको थिएन । त्यही कारण निजी क्षेत्रलाई हेर्ने दुराशयपूर्ण दृष्टिकोण कांग्रेसभित्र पनि थियो,” खनालले भने, “म आशावादी के छु भने कांग्रेसको त्यो खुकुलो संरचनाको स्वीकारोक्ति तल्लो तहबाट आएको छ । तलैबाट भएको रूपान्तरणले पार्टीमा मात्र होइन देशमा पनि रूपान्तरण ल्याउन सक्छ । पार्टीको लोकतन्त्र बचाउन सक्नेले देश रूपान्तरण पनि गर्न सक्छ भन्ने विश्वास जागेको छ ।”
उनले राज्यका संस्थाहरू कमजोर हुँदै जाँदा राष्ट्र नै असफल हुने बाटोमा पुगेको उल्लेख गर्दै कांग्रेसमा देखिएको जागरणले आशाको सञ्चार गरेको बताए ।
“राज्यका संस्थाहरू काम नलाग्ने हुनुमा पार्टीको भूमिका थियो । अहिले कांग्रेसमा रूपान्तरण ल्याउनुमा क्याटलिस्टको भूमिकामा जेनजी आन्दोलनले काम गरेको हो,” खनालले भने, “तर, कांग्रेसमा जुनस्तरको रूपान्तरण आयो यो अन्य पार्टीमा पनि जान जरुरी छ ।”
उनले लोकतन्त्रको जिन कांग्रेसले सुरक्षित गरेको भन्दै देशलाई प्रतिनिधित्व गर्ने हैसियत पनि यसले नै बनाएको बताए ।




प्रतिक्रिया दिनुहोस्