- सुधन गुरुङले अंगालो हालेर ल्याएका शिक्षामन्त्री महावीर पुन रिसाएर हिँडेको प्रधानमन्त्री कार्कीको भनाइ छ ।
- प्रधानमन्त्री सुशीला कार्कीले जेन-जीका अगुवाहरूको दबाबमा कुलमान घिसिङ, महावीर पुन, जगदीश र बब्लु गुप्तालाई मन्त्रिपरिषद्मा ल्याउनुपरेको बताएकी छन्।
- सरकार गठनका बेला बाहिरबाट योग्य व्यक्तिहरू खोज्नुपर्ने अवस्था आएको र जेन-जीको निरन्तर दबाबका कारण केहीलाई मन्त्री बनाउनैपरेको प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन्।
- महावीर पुन शिक्षामन्त्रीबाट राजीनामा दिएर रिसाएर हिँडेको र सरकारमा ल्याउँदा जेन-जीको चाहनाअनुसार निर्णय गर्नुपरेको कार्कीले उल्लेख गरिन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीबाट राजीनामा गरेर निर्वाचनमा उम्मेदवार बनेकाहरूलाई मन्त्री बनाउनका लागि जेन-जीका अगुवाहरूले दबाब दिएको बताएकी छन् ।
राष्ट्रिय सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकार गठनका बेला जेन-जीका अगुवाहरूले केही व्यक्तिलाई मन्त्री बनाउनैपर्ने भनी दबाब दिएको र नियुक्ति गर्नुपर्ने अवस्था आएको बताएकी हुन् । ‘यहाँहरूलाई थाहा होला कि भदौ २७ गते शपथग्रहण गरेपछि मन्त्रिपरिषद् गठन भएन । हामी राजनीतिक दलको मान्छे होइन । हामीले बाहिरबाट खोज्नुपर्ने अवस्था आयो अन्तरिम सरकारको लागि । हामीलाई जेन-जीको ठूलो प्रेसर थियो । जेनजीको मान्छेहरू ल्याउ मन्त्रीमा भनेर आयो । त्यसमा महावीर पुन, कुलमान घिसिङको नाम आयो । हामीले मान्नुपर्ने अवस्था थियो । धेरैको नाम आयो । त्यसमध्येको केहीलाई मन्त्रिपरिषद्मा ल्यायौं,’ कार्कीले भनिन्, ‘तत् तत् व्यक्तिहरूले आउन मान्नुभएको थिएन मन्त्रिपरिषद्मा । जेनजीको प्रेसर के थियो भने यिनीहरूले तिमीहरूले लिनैपर्छ । कुलमानलाई लिनैपर्छ, पुनलाई लिनैपर्छ सञ्चारमन्त्री तिनीहरूलाई पनि लिनैपर्छ भन्ने थियो ।’
आफूले हातै जोडेर उनीहरूलाई सरकारमा ल्याएको प्रधानमन्त्री कार्कीको भनाइ थियो । बब्लु गुप्तालाई पनि सरकारमा ल्याउनका लागि जेनजीले दबाब दिएको प्रधानमन्त्री कार्कीको भनाइ थियो । ‘पुनलाई अंगालो हालेर सुधन गुरुङले किताब बेच्दाबेच्दै सडकबाट ल्याएर आयो,’ प्रधानमन्त्री कार्कीले भनिन् ।
सरकारमा सहभागी गराउने बेला नै कुलमान घिसिङलगायतलाई चुनावमा जान दिने भनेकी पनि प्रधानमन्त्रीले स्मरण गरिन् । ‘जेन-जीको प्रेसर थियो ल्याउनैपर्ने, उनीहरूको प्रेसर थियो हामी चाहेको बेलामा निस्केर जान्छौं भन्ने,’ उनले भनिन् ।
शिक्षामन्त्रीबाट राजीनामा दिएका पुन रिसाएर हिँडेको पनि प्रधानमन्त्री कार्कीले बताइन् । ‘पुन त रिसाएर हिँड्नुभएको हो । दुई-चार कानुन बनाउन भन्नुभएको थियो । ती कानुन राम्रै थियो । तर हामीले यो छोटो समयमा कानुन बनाएर सहयोग गर्न उहाँलाई सकेनौं । मुलुककै लागि थियो तर उहाँलाई सहयोग गर्न सकेनौं अनेक परिस्थिति हुन्छ,’ उनले भनिन् ।




प्रतिक्रिया दिनुहोस्