लैंगिक विभेद हटाउने उद्देश्यले गाउँपालिकाले छोरी जन्माउने आमालाई तीन हजार रुपैयाँका दरले प्रोत्साहन भत्ताको व्यवस्था गरेको हो ।
दोधारा चाँदनी (कञ्चनपुर) — बेल्डाँडी गाउँपालिकाले छोरी जन्माउने अभिभावकलाई प्रोत्साहन स्वरुप तीन हजार रुपैयाँ भत्ताको व्यवस्था गरेको छ ।
गाउँपालिकाले लैंगिक विभेद हटाउने उद्देश्यले छोरी जन्माउने आमालाई तीन हजार रुपैयाँका दरले प्रोत्साहन भत्ताको व्यवस्था गरेको हो ।
गाउँपालिका उपाध्यक्ष शान्ति नाथले पछिल्लो समय लिंग पहिचान गरी गर्भपतन गर्ने प्रवृत्ति बढेकाले त्यसलाई रोक्न छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको बताइन्। ‘आर्थिक वर्ष २०७९/८० बाट ‘उपाध्यक्ष कोसेली’ कार्यक्रमअन्तर्गत छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएकोे हो,’ उपाध्यक्ष नाथले भनिन्, ‘हालसम्म ३५३ आमाले छोरी जन्माएवापत प्रोत्साहन भत्ता पाएका छन् ।’
उनका अनुसार चालु आर्थिक वर्षमा ४० आमालाई छोरी जन्माएवाफत प्रतिव्यक्ति तीन हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिएको छ ।
प्रोत्साहन भत्ता लिन आउँदा विवाह दर्ता र बालिकाको जन्मदर्ता ल्याउनुपर्ने भएकाले यसले बालविवाहलाई रोक्ने अपेक्षा गरिएको छ । त्यसअघि पालिकाले सुत्केरी आमालाई पोषण भत्ता स्वरुप ५ सय रुपैयाँ दिँदै आएको थियो । ‘उपाध्यक्ष कोसेली’ कार्यक्रमबाट पालिकामा गर्भपतिलाई एम्बुलेन्स सेवा निःशुल्क गरिएको छ भने जिल्ला सदरमुकाम वा बाहिर रेफर हुँदा एम्बुलेन्समा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
उनले ३५ वर्ष नाघेका अविवाहित महिलालाई एकल महिला स्वरह मासिक २ हजार ५०० भत्ता दिने गरेको बताइन् । ‘पालिकाभित्र रहेका तेस्रो लिंगीलाई मासिक भत्ता दिने व्यवस्था गरिएको छ,’ उनले भनिन्, ‘टुहुरा बालबालिकालाई पोसाक भत्ता दिने कार्यविधि बनाएर कार्यान्वयन चरणमा छ ।’




प्रतिक्रिया दिनुहोस्