कर्णालीमा १३२ केभी प्रसारणलाइन सञ्चालन, ट्रिपको समस्या नहुने

काठमाडौं । गुणस्तरीय बिजुली नपुगेको कर्णालीमा यसै साता १३२ केभी प्रसारणलाइनमार्फत बिजुली पुगेको छ । कर्णालीमा कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारणलाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेतखण्ड सञ्चालनमा आएसँगै कर्णालीमा पनि गुणस्तरीय बिजुली पुगेको हो ।

यसअघि ३३ केभी लाइनमार्फत कर्णाली प्रदेशमा विद्युत आपूर्ति गर्दा देखिने ओभरलोड, पटक–पटक विद्युत् अवरुद्ध हुने गरेको थियो । १३२ केभी प्रसारणलाइन पुगेसँगै लो–भोल्टेजको समस्यामा उल्लेख्य सुधार हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

यस क्षेत्रबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा प्रवाह गराउन समेत यो लाइन महत्वपूर्ण हुने उनले बताए । 

यसअघि पुसको तेस्रो साता कर्णालीको सुर्खेत पुगेर कार्यकारी निर्देशक शाक्यले १३२ केभी प्रसारणलाइन तत्काल चार्जमा ल्याउन निर्देशन दिएका थिए । स्थलगत निरीक्षणका क्रममा काममा ढिलासुस्ती नगर्न दिएको निर्देशनको करिब तीन सातापछि उक्त प्रसारणलाइन सञ्चालनमा आएको छ ।

सुर्खेत पुगेका शाक्य दोस्रोपटक पनि प्रसारणलाइन सञ्चालनको सुरुआतका लागि त्यहाँ पुगेका थिए । आयोजना सञ्चालनमा आएपछि उनले कर्णाली प्रदेशमै पहिलोपटक १३२ केभी प्रसारणलाइन चार्जमा ल्याउन सफल भएको उल्लेख गर्दै यसबाट कर्णाली प्रदेश तथा सुर्खेतका उपभोक्ताले गुणस्तरीय विद्युत् उपयोग गर्नसक्ने अवस्था सिर्जना भएको बताए ।

“अर्थतन्त्रको साँचो उद्योग–व्यवसाय हो र उद्योग–व्यवसायको साँचो ऊर्जा हो,” उनले भने, “गुणस्तरीय ऊर्जाको आपूर्तिसँगै कर्णालीको अर्थतन्त्र सुधारका लागि थप ढोका खुल्नेमा प्राधिकरण आशावादी छ ।”

साथै शाक्यले सुर्खेतको स्वचालित सब–स्टेसननजिकै प्रमुख राजमार्ग छेउमा टावर रहेको र प्राधिकरणले अधिग्रहण गरेको जग्गामा राजमार्ग प्रयोग गर्ने विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन स्थापना गर्न आवश्यक तयारी गर्न उनले निर्देशन दिएका छन् ।

जग्गा प्राप्ति, वन क्षेत्रको कटान तथा स्थानीय जग्गाधनीसँगका विवाद समाधान गर्दै आयोजना सफल बनाउन प्राधिकरण, आयोजनाका कर्मचारी र स्थानीयवासीको संयुक्त योगदान रहेको उनले बताए ।

आयोजना रविकुमार चौधरीका अनुसार करिब ७५ करोड रुपैयाँलागतमा निर्माण भएको सब–स्टेसन तयारी अवस्थामा छ । करिब ६५ करोड रुपैयाँ लागतमा निर्माण भएको प्रसारणलाइन परीक्षणपछि सञ्चालनमा ल्याइएको हो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार