बागलुङमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको छ।
बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित बागलुङ विशेष बालकक्षा आधारभूत विद्यालय बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने गण्डकी प्रदेशकै एउटा मात्र विद्यालय हो।
शारिरिक अपाङ्गता भएका, बौद्धिक र सुस्त श्रवण क्षमता भएका विद्यार्थीलाई अध्यापन गराउने गरी विसं २०४३ मा स्थापना भएको विद्यालयमा अहिले बौद्धिक अपाङ्गता भएका विद्यार्थी मात्रै छन्।
बहिरा विद्यार्थीलाई रामरेखा बहिरा आवासीय विद्यालय र शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई रामरेखा आधारभूत विद्यालयमा अध्ययनको व्यवस्था मिलाएपछि यस सामुदायिक विद्यालयमा बौद्धिक अपाङ्गता भएका विद्यार्थी मात्रै अध्ययन गराउन थालिएको विद्यालयका प्रधानाध्यापक युक्तजङ्ग राजभण्डारीले बताए।
बौद्धिक अपाङ्गता भएका कास्की, पर्वत, म्याग्दी र बागलुङका ३५ विद्यार्थीले यस विद्यालयमा अध्ययन गरिरहेको राजभण्डारीको भनाइ छ। “बौद्धिक रूपमा अपाङ्गता भएका बालबालिका परिवारमा अपहेलनामा परेका हुन्छन्। सामुदायिक विद्यालयले उनीहरूलाई हुर्काउने, पालनपोषण गर्ने र सामान्य शिक्षा दिने काम गर्छ।” राजभण्डारीले भने, “विसं २०५३ मा आफ्नै विद्यालय भवन र २०६६ मा ‘होस्टेल’ निर्माण गरिएको थियो, अहिले आवासीय रूपमा २२ विद्यार्थी बस्दै आएका छन् भने १३ विद्यार्थी घरबाटै विद्यालय आउनेजाने गरेका छन्, उनीहरूलाई एकदेखि ५ कक्षासम्मको शिक्षा दिइन्छ।”
उनले विद्यालयले नै अभिभावको जिम्मेवारी निर्वाह गर्न निकै कठिन रहेको र विभिन्न सामाजिक सङ्घसंस्थाको सहयोगले आवासीय विद्यार्थीलाई खान, बस्न र लत्ता कपडाको जोहो भइरहेको छ। विद्यालयमा तीन शिक्षक र तीन कर्मचारी छन्।
विसं २०४३ मा स्थापना भएको विद्यालयमा २०५३ मा विर्टिस वेलफेयरले विद्यालयको भवन बनाएको थियो भने २०६६ मा प्लान नेपालले होस्टेल निर्माण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेशप्रसाद श्रेष्ठले बताए।
यस विद्यालयमा चार वर्षदेखि १८ वर्षसम्मका बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्दै छन्। श्रेष्ठका अनुसार विद्यालयमा विभिन्न सामाजिक सङ्घसंस्था तथा पुण्य तिथि, जन्मदिन र शुभकार्यको अवसरमा खाद्यान्न, लत्ताकपडा सहयोग प्राप्त भइरहेको बताए।
“विद्यालयमा अझै भौतिक पूर्वाधारको अभाव छ, बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई समाल्नै समस्या हुन्छ, अभिभावकले विद्यालयलाई जिम्मा लगाउछन्, केही अभिभावकले दसैं र तिहार बिदामा आफ्ना छोराछोरी घर लैजान मान्दैनन्”, श्रेष्ठले भने, “उनीहरूको खानपान, लत्ता कपडादेखि सरसफाइसम्मको काम विद्यालय कर्मचारीले नै गर्दा निकै समस्या छ, हामीले सेवाको भावले काम गरिरहेका छौं, गण्डकी प्रदेशमै यस्तो प्रकृतिको विद्यालय छैन, हामीहरु बौद्धिक अपाङ्ग बाहेकका अन्य विद्यार्थीलाई अध्यापन गराउदैनाैं।”
बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई बागलुङ विशेष बाल कक्षा आधारभूत विद्यालय उपल्लचौरमा अध्यापन गराइँदै आइएको छ भने देशभरका ५४ जिल्लाका बहिरा विद्यार्थीलाई बागलुङ–१ रामरेखास्थित धौलागिरि बहिरा आवासीय विद्यालयमा अध्यापन गराइँदै आइएको छ।




प्रतिक्रिया दिनुहोस्