डोटी । बजेट नहुँदा जिल्ला अस्पताल डोटीको भवन निर्माणमा ढिलाई भएको छ । हाल २५ शैयामा चलिरहेको उक्त अस्पताललाई ५० शैयाको बनाउने गरी २०७७ सालबाटै काम सुरु भए पनि हालसम्म भवन निर्माणको काम नसकिएको हो । अस्पतालको भवन निर्माण गर्ने ठेक्का केयस कन्स्ट्रक्सन धनगढीले पाएको छ । कम्पनीसँग कुल १० करोड २७ लाखमा काम सक्नेगरी २०७७ फागुन ७ गते सम्झौता भएको थियो ।
कम्पनीसँग गरिएको सम्झौताअनुसार अस्पतालको भवन निर्माणको काम २०७९ फागुनसम्म सकिनुपर्थ्यो । तर सम्झौताको म्याद सकिएको झण्डै दुई वर्ष बित्न लाग्दा पनि काम भने सकिएको छैन ।
त्यसो त संघीय विशेष अनुदानतर्फको आर्थिक वर्ष २०७७ ७८ मा बजेट विनियोजन भएपछि ठेक्का सम्झौता गरिए पनि ठेकेदार कम्पनीले कोभिड-१९ र मूल्यवृद्धिको कारण देखाउँदै २०८० माघसम्म म्याद गरेको थियो । तर म्याद थप भएको समय सकिँदा पनि अस्पतालको भवन निर्माणको काम सकिएको छैन । हालसम्म भवन निर्माणको ९२.७५ प्रतिशत काम सकिएको छ । ठेकेदार कम्पनीलाई हालसम्म ८ करोड ६५ लाख रुपैयाँ भुक्तानी गरिसकिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुजितकुमार मण्डलले बताएका छन् ।
यता चालु आर्थिक वर्षमा उक्त अस्पतालको भवन निर्माणका लागि कुनै पनि बजेट विनियोजन गरिएको छैन । बजेटका लागि पहल गर्दा पनि बजेट व्यवस्थापन हुन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले बताएका छन् । सुरुमा ठेकेदार कम्पनीको लापरवाहीले काममा ढिलाई भए पनि हाल भने बजेट अभाव हुँदा काम अघि बढ्न नसकेको अस्पताल समितिको भनाई छ ।
प्रतिक्रिया दनुहोस्