धनगढी : नेकपा एमालेबाट निस्कासनमा परेका डा. भीमबहादुर रावलले ठूला राजनीतिक दलहरूलाई गन्तव्यहीन, आदर्शहीन, र सिद्धान्तहीन भएको आरोप लगाउँदै वैकल्पिक देशभक्त राजनीतिक शक्तिको निर्माणमा लाग्ने घोषणा गरेका छन्।
‘मातृभूमि जागरण अभियान नेपाल’को नेतृत्व गर्दै देश दौडाहामा रहेका रावलले वर्तमान राजनीतिक दलहरू भागबण्डा र गुटबन्दीमा लिप्त भएको आरोप लगाए। आज सुदूरपश्चिमको धनगढी पुगेर उनले भने, ‘प्रधानमन्त्री बन्यो, भागबण्डा गरेर खाने। विश्वविद्यालय, आयोग सबैमा भागबण्डा छ। भागबण्डाभित्र पनि गुटबन्दी छ। के यो राज्य व्यक्तिगत स्वार्थका लागि होरु’
रावलले राष्ट्र र राष्ट्रियता जोगाउन इमानदार देशभक्तहरू एकजुट हुनुपर्नेमा जोड दिए। ‘देश र जनताका लागि इमानदार देशभक्तहरू हामी एक ठाउँमा आउँछौं भन्नेमा मेरो विश्वास छ,’ उनले भने।
राजावादी भनी गरिएको टिप्पणीलाई अस्वीकार गर्दै रावलले आफूले सुरु गरेको अभियान कुनै व्यक्तिविशेषको पक्षमा नभई देश र जनताका लागि भएको बताए। ‘राजावादी भन्न नमिल्ने। यो अभियान राष्ट्रको हितमा हो,’ उनले स्पष्ट पारे।
१७ पुसमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा लाग्ने घोषणा गरेका थिए। हाल ‘मातृभूमि जागरण अभियान नेपाल’को नाममा अभियान सञ्चालन गरिरहेको बताउँदै उनले यसलाई राष्ट्रिय रूप दिएर पार्टीको स्वरूपमा लैजाने योजना रहेको खुलासा गरे।
‘देशको अवस्था परिवर्तनका लागि धेरैले हातेमालो गर्नुपर्छ। आवश्यकता अनुसार यो अभियानलाई परिमार्जित गर्दै पार्टीको स्वरूपमा लैजान तयार छौं,’ उनले भने।
रावलले आफ्नो अभियानले कालान्तरमा ठूलो रूप लिने विश्वास व्यक्त गर्दै भने, ‘हिमालमा गुडिरहेको हिउँको डल्लो सानो देखिन्छ, तर पछि त्यो हिम आँधीमा बदलिन्छ।’
रावलले ठूला राजनीतिक दलहरूले देशलाई गन्तव्यहीन बनाएको आरोप लगाए। ‘देश र जनताका लागि होइन, भागबण्डा र गुटबन्दीको राजनीतिले मुलुकलाई कमजोर बनाएको छ। यो अवस्था परिवर्तन गर्न सबै देशभक्तहरूले मिलेर अघि बढ्नुपर्छ,’ उनले भने।
प्रतिक्रिया दनुहोस्