धनगढी । साइलक दुर्घटनामा परेर घाइते भएकी १७ वर्षीया बन्दना लिम्बुको उपचारमा आर्थिक अभाव भएको छ । साइकल सिक्ने क्रममा गत साउन ३१ गते दुर्घटनामा परेकी डडेल्धुराको अमरगढी नगरपालिका ५ की लिम्बुको उपचारमा आर्थिक अभाव भएको हो ।
उनको हाल धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
सुरुमा उनको उपचारका लागि घरमा भएको सुनसमेत बेच्नुपरेको बन्दनाकी आमा धनमाया लिम्बुले बताइन् । भएको सुन बेचेर र गाउँलेबाट केही रकम संकलन गरेर जेनतेन उपचार गराइरहेको भए पनि अहिले भने थप उपचारका लागि समस्या भएको धनमायाले दुखेसो पोखेकी छिन् ।
‘सुरुमा भएको सुन बेचेँ, गाउँलेबाट केही पैसा संकलन गरेर उपचारका लागि यहाँ ल्याएँ’, उनले भनिन्, ‘तर अहिले थप उपचारमा निकै समस्या भएको छ । के गर्ने ? कसरी पैसा जुटाउने ? साह्रै समस्या भएको छ ।’
बन्दनाकी आमा धनमायाका अनुसार दुर्घटनाबाट बन्दनाको टाउकोमा गहिरो चोट लागेको छ । पहिलो चरणको उपचारमा बन्दनाको टाउकोको अपरेशन गरिएको थियो । तर पछि स्वास्थ्यमा फेरी समस्या देखिएपछि दोस्रो पटक फेरी टाउकोको अपरेशन गरिएको छ । तर, उनको होस् भने खुलेको छैन । अपरेशन भए पनि अस्पतालमा थप उपचारमा समस्या भएको बन्दनाकी आमा धनमायाले बताएकी छिन् ।
त्यसो त बन्दनाको परिवार सुकुम्बासी भनेर सरकारले दिएको जग्गामा बस्दै आएको छ । सोही जग्गाबाहेक उनको अन्य सम्पत्ति र आयआर्जनको स्रोत केही छैन । तर त्यही जग्गा बेच्छु भन्दा पनि किन्ने कोही नपाएको धनमायाले गुनासो गरेकी छिन् ।
‘सम्पत्तिका नाममा सुकुम्बासी भनेर पाएको एक टुक्रा जमीन छ, ग्राहक पाए त्यही पनि बेचिदिन्थेँ तर किन्ने कोही पाएको छैन’, धनमायाले भनिन्, ‘अब छोरीको उपचार गर्न पनि मुस्किल परिसक्यो, अस्पतालमा तिर्नुपर्ने पैसा बढेको बढ्यै छ, पैसा आउने ठाउँ छैन ।’
त्यस्तै उनले आफ्नो दुखेसो पोख्दै उपचाररत १७ वर्षकी छोरी बचाइदिन अपिल गरेकी छिन् ।
बन्दनाको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले ९८४८७२८५८२ सम्पर्क गरेर आर्थिक सहयोग गर्न सकिनेछ भने धनमाया लिम्बुको नाममा कुमारी बैंकमा भएको बैंक खाता (खाता नम्बरः ०२८०३१७५८२३००००१) मा पनि सिधै सहयोग गर्न सकिनेछ । हाल उनको निसर्ग अस्पतालको सर्जिकल वार्डको बेड नम्बर १४ मा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्