मर्यो भनिएका उत्तम जब भेटिए: दाइ रोए, भाउजु भक्कानीइन….

भक्तराज जोशी

धनगढी । महिनौँदेखि परिवारबाट सम्पर्कबिहीन भएका २३ वर्षिय उत्तम रावलको परिवारसँग पुनर्मिलन भएको छ । 

कैलालीको गेटामा बेबारिसे अवस्थामा भेटिएका उत्तमलाई उद्दार गरेको भिडियो कल २४ न्युजले प्रशारण गरेपछि उत्तमको परिवार सम्पर्कमा आएका थिए । 

Tihar shuvakamana
Discovery School

उत्तमको उद्दारदेखि निरन्तर फलोअप गरिरहेका हामीले उत्तमलाई उत्तमको परिवारसँग भेटाउने अठोट लियौँ र लाग्यौँ उद्दारपछि उत्तमलाई राखिएको बर्दगोरियाको साहरा घरतर्फ । लम्कीमा उत्तमको दाइ, भाइ, भाउजु, बहिनि र ज्वाईं भेटिए । 

जब हामी बर्दगोरियाको साहरा घर पुग्यौँ, उत्तम सेतो टिसर्ट, कालो ट्रयाक र ढाका टोपी लगाएर बसेका थिए ।

चिटिक्क परेको उत्तमलाई भेट्दै गर्दा उसलाई गेटाबाट उद्दार गर्दैगर्दाको दृश्य झलझली आँखाभरी आए । झुत्रो लुगा, नाङ्गो शरीर, शरिरभरि चोटपटक र घाउ, जिङ्ग्रिङ्ग्ग कपाल भएको व्यक्ति आँखा अगाडी चिटिक्क भएर बसेको थियो ।

उत्तमलाई देख्नेबित्तिकै उत्तमलाई लिन भन्दै आएका उनका दाइ, भाउजु, भाइ, बहिनि, ज्वाईं थामिएनन । 

दाइ नजिकै गएर भाइको हात मुसार्न थाले । आखिर मनै त हो, दाइ पनि थामिएनन र रुन थाले । दाइ रोएको देखेर उत्तम पनि केहीबेर भाबुक बने । 

केहीबेर सन्नाटा छायो । सबैका आँखा कुर्सीमा बसेको उत्तमतिरै थिए । 

उत्तमका आँखामा परिवार भेट्दाको खुसि छल्किरहेको थियो । त्यहीबेला उत्तमका दाइले मोबाइल झिके र भिडियो कल गरिदिए बहिनीलाई । 

महिनौँदेखि हराएको अझ संसारमै छैन भनेको दाजु देखेपछि एउटी बहिनिको मन कहाँ मान्छ र ? नजिकै भएको भए झम्टिँदी हुन्, दाजुको समिपमा लुटपुटाउँदि हुन्, मायाको ममताले भरिपूर्ण पारिदिँदी हुन् । तर उनि टाढा थिइन् र पनि बहिनीको मायामा कुनै कसर छोडिनन् । 

यता बहिनीको ममताले निथ्रुक्क उत्तम बहिनीलाई सम्झाउँदै थिए, ‘नरुनु, अब आइहाल्छु ।’

त्यहीबीच उत्तमकी बहिनीले ‘दाइ छिटो आउनु, आधा बाटोसम्म म लिन आउंछु’ भनेपछि उत्तम झन् भावुक बने र ‘अँ अँ’ मा जवाफ फर्काइरहे ।

अर्कोतर्फ आमा र बहिनिसँग उत्तमको कुरा सुनिरहेकी उत्तमकी भाउजु थप भक्कानीइन । उत्तमले आफ्नी भाउजु चिने, दुवैबीच छोटो कुराकानी भयो र धेरैबेर भाउजु भक्कानिइरहिन, उत्तम भाबुक बनिरहे र भने, ‘नरोउ, नरोउ भन्या’

फेरी केहीबेर माहोल स्तब्ध बन्यो, सन्नाटा छायो । अनि केहीबेरको सन्नाटा चिर्दै उत्तमका भाइले उत्तमसँग फोटो खिचे ।    

त्यतिञ्जेलसम्म साहरा घरका संचालक बल बहादुर बिष्टले उत्तमलाई बिदाइ गर्ने तयारी गरिसक्नुभएको थियो । उद्दार गरेर ल्याएको २ दिन पनि नबित्दै उत्तमलाई परिवारसँग मिलन गराउन पाउँदा उहाँ झन् दोब्बर खुसि देखिनुहुन्थ्यो ।

‘यो हाम्रो लागि सौभाग्य हो, जो कि उद्दार गरेको २ दिन नबित्दै उत्तमलाई परिवारसंग पठाउँदै छौँ’, उहाँले भन्नुभयो, ‘यसरि नै आफ्नाले खोजि गर्ने र हराएका बेसाहाराहरुले परिवार भेट्ने हो भने साहरा घरजस्ता संस्था नै चाहिन्नथ्यो । जे भयो राम्रो भयो, अब उत्तमले नयाँ जीवन जिउनेछ । उत्तमले परिवार भेट्दा हामी झन् खुसि छौँ ।’   

यता उद्दारको सुरुवाती चरणदेखि संगै रहनुभएकी कल्पना भट्टले पनि उत्तमले परिवार भेट्दा निकै खुसि भएको प्रतिक्रिया दिनुभयो । अझ भट्ट उत्तमको बिदाइमा निकै भावुक हुनुभएको थियो ।

बिदाईको सम्पूर्ण प्रक्रिया पूरा गरेर उत्तमलाई छोड्न अलि परसम्म पुग्यौँ । 

त्यसबीचमा उत्तम र मबीच केही संवाद भए । उत्तम परिवार भेट्दा निकै खुसि थिए । अझ घर जाँदैछु भन्ने थाहा पाएपछि उत्तमको खुसिको सिमा नै थिएन । त्यत्तिकै खुसि थिएँ म पनि । आँखै अगाडी त्यस्तो दयनीय अवस्थामा रहेको व्यक्ति आज यो अवस्थामा पुगेर आफ्नो घर जाँदैछ भन्ने सम्झिन्दै मेरो मन फुरुंग भएको थियो, अन्तर आत्माबाटै सन्तुष्टिको मिठो सुगन्ध आइरहेको थियो, मेरो अनुहारमा । 

र अन्तत: फोन गर्ने, राम्रोसँग घरमा बस्ने बाचासहित उत्तमले खुसीको ‘बाईबाई’ गरे, हामीले आत्मसन्तुष्टिको लामो सास फेर्यौं ।   

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार