धनगढी पार्कबारे नागरिक समाजको धारणा- ‘विकास होइन, विनाश रोक्न खोजेका हौँ’

भक्तराज जोशी

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र मल्ले धनगढी(१ स्थित विरेन्द्र ऐश्वर्य उद्यान (धनगढी पार्क) निर्माणको कार्य तत्कालका लागि स्थगित गर्नुपर्ने बताएका छन् । 

पछिल्लो समय धनगढीमा निकै चर्चा कमाएको धनगढी पार्क निर्माणको विषयमा आफ्ना धारणा राख्दै मल्लले अहिले आधुनिक पार्क निर्माण गर्ने विषयमा नागरिक समाजको चर्को विरोध भइरहेकोले विवादकै बीचमा पार्क निर्माणको प्रोजेक्ट अघि बढाउन नहुने बताएका छन् । उनले धनगढीको विकास अपरिहार्य भएको तर प्राकृतिक पार्कलाई पूर्णरुपमा कंक्रटाइज गर्ने कार्य ठिक नभएको बताएका छन् । 

dashain shuvakamana
Discovery School

‘विरेन्द्र ऐश्वर्य उद्यान धनगढी शहरको मुटुमा छ, यो पार्कलाई थप व्यवस्थित बनाएर लैजानुपर्छ तर व्यवसायिक प्रयोजनका भवन निर्माण गरेर व्यापारिक पार्क बनाउनु राम्रो पक्ष होइन’, उनले भने, ‘कसैलाई हाम्रो माग विकास विरोधीजस्तो लाग्न सक्छ, त्यसैले यो विवादका बीचमा पार्क निर्माणको प्रोजेक्ट अघि बढाउनु हुन्न ।’ 

यस्तै प्रदेश सभा सदस्य मल्लले रोजगारी सृजना गर्ने तथा सहर सुन्दर बनाउने उद्धेश्यले तयार गरिएको डिपिआर अन्त्यन्तै सुन्दर भए पनि त्यसलाई विरेन्द्र ऐश्वर्य उद्यानमा नभएर अन्यत्र बनाउन माग गरेका छन् । 

धनगढीमा पछिल्लो समय जनघनत्व बढिरहेको स्मरण गराउँदै उनले खाली ठाउँ पनि चाहिने भन्दै विरेन्द्र ऐश्वर्य उद्यानलाई प्राकृतिक रुपमा खुला छोड्नुपर्ने बताएका छन् । 

यता धनगढीका स्थानीय तथा प्राध्यापक सिताराम भट्टले पनि धनगढी उपमहानगरपालिकाको आधुनिक पार्कको योजनामा असहमति जनाएका छन् । 

विरेन्द्र ऐश्वर्य उद्यान प्राकृतिक पार्क मात्रै नभएर धनगढीबासीका लागि सास फेर्ने ठाउँसमेत भएको भन्दै उनले भएको प्राकृतिक सम्पदा मासेर आधुनिक पार्क बनाउनु उचित नहुने बरु आधुनिक पार्कका लागि छुट्टै स्थान तोकेर स्थानान्तरण गर्नुपर्ने बताएका छन् । 

‘जताततै सिमेन्टेड भवन मात्रै भए खुला ठाउँ कहाँ हुन्छ ?’, उनले भने, ‘भोलिका दिनमा भूकम्पजस्ता प्राकृतिक विपत्ति आए त्रिपाल टाँगेर बस्नका लागि खाली ठाउँ कहाँ छ ? त्यसैले प्राकृतिक सम्पदा मासेर खाली ठाउँमा कंक्रिटका भवन बनाउनु हुँदैन ।’ 

त्यस्तै उनले स्थानीय पालिकाले लोक कल्याणकारी काम गर्नुपर्ने भन्दै भएको प्राकृतिक सम्पदा नास गरेर, पार्कभित्र व्यापारिक सटर बनाएर पैसा कमाउने योजना लागू गर्न नहुने बताएका छन् । 

बरु आधुनिक पार्क निर्माणको उक्त योजना तत्कालका लागि स्थगित गरेर आवश्यक प्रक्रिया पूरा गरी अन्यत्र स्थानान्तरण गर्न पनि भट्टले माग गरेका छन् । 

धनगढी उमहानगरपालिकाले ३६ करोडको डिपिआर तयार पारेर पार्क निर्माणको काम सुरुसमेत गरिसकेको छ । अझ धनगढी पार्कको निर्माण कार्य २०८३ बैशाख १७ गतेसम्म सक्नेगरी नेशनल पवन जेभीसँग २०८१ असार १७ गते सम्झौतासमेत भइसकेको छ । तर धनगढी पार्कलाई आधुनिक र व्यवस्थित बनाउने नाममा प्राकृतिक सम्पदा मास्ने काम हुन लागेको भन्दै नागरिक समाजले पार्क निर्माणमा विरोध गर्दै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार