बझाङको थलारा गाउँपालिकामा सेती नदी पस्यो , १४ घरपरिवारको बिचल्ली !

भक्तराज जोशी

बझाङ :सेती नदीमा आएको बाढी थलारा गाउँपालिका ९, झ्याँबगर गाउँमा पसेको छ । बाढी पसेपछि झ्याँबगर गाउँ सेतीका दुईवटा भंगालोको बीचमा परेको छ । गाउँ डुबानमा परे पछि १४ परिवार विस्थापित भएका छन् । ‘गाउँको बीचमा सेती नदीको भंगालो पसेपछि बिहानै गाउँ छोडेका छौं,’ थलारा गाउँपालिका ९ का वडाध्यक्षसमेत रहनुभएका लोकेन्द्र विष्टले भन्नुभयो, ‘नदीको सतह बढेको बढ्यै छ । जुनसुकै बेला पनि गाउँ बगाउन सक्छ ।’

बिहान पानीको सतह बढेपछि मानिस र वस्तुभाउ जोगाउन सफल भए पनि घरभित्रको सामान जोगाउन नसकेको जनप्रिय माध्यमिक विद्यालयका शिक्षकसमेत रहनुभएका नवीनबहादुर विष्टले बताउनुभयो । ‘मान्छे र गाईबाख्रालाई तार्दा(तार्दै नदीले घरहरु डुबाइहाल्यो,’ उहाँले भन्नुभयो, ‘टापुमा अड्किएका मान्छेलाई बल्ल(बल्ल वारि तार्न सक्यौं । घरभित्रका सामान केही पनि ल्याउन पाएनौं ।’

गाउँमा बाढी पसेपछि विस्थापित भएकाहरु तुलनात्मक रुपले सुरक्षित रहेका आफन्तको घरमा आश्रय लिएको विष्टले जनाउनुभयो । बिहीबारदेखि लगातार भइरहेको वर्षाका कारण सेती नदीको जलस्तर खतराको तहमा पुगेको छ । जल तथा मौसम विज्ञान विभागको नदी अनुगमन गर्ने वेबसाइटले सेतीको जलसतह बढेर ४।२९ मिटर पुगेको जनाएको छ । यो खतराको तह भएको वेबसाइटमा उल्लेख छ ।शुक्रबारसम्म तीन मिटर हाराहारी रहेको सेतीको जलसतह शनिबार साँझसम्म निरन्तर बढेको बढ्यै छ । लगातारको वर्षापछि सेतीमा आएको बाढीले केदारस्युँको पथुडामा दुईवटा पोल बगाउँदा बझाङको विद्युत् सेवा पनि अवरुद्ध भएको छ ।

सेतीका सहायक खोला र नदीमा पनि जलस्तर बढेका कारण नदी र खोला किनारका बस्तीहरुमा जोखिम बढेकोले सतर्क रहन जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि नै निरन्तर सतर्कता सूचना जारी गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

60%

दु :खी

20%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार