दाङ- भालुवाङमा दुर्घटनामा परेको बसले ट्राफिक छलेको पाइएको छ। राप्ती पुल किनारमा अस्थायी ट्राफिक प्रहरी छ।
ट्राफिक प्रहरीका अनुसार बस नेपालगञ्जबाट काठमाडौंको लागि अघि बढ्दै गर्दा भालुबाङ पुलचोकमा ट्राफिक जाँच थियो। दुईवटा बस सँगै थिए। जसमध्ये एउटा बस चेकिङमा अडियो। अर्को बस तीव्र गतिमा अघि बढ्यो।
ट्राफिक जाँच छलेर तीव्र गतिमा गुडेको बस पुलमा प्रवेश गरे लगत्तै फलामको रेलिङ भाँचेर दक्षिण किनारमा खसेको स्थानीय पनि बताउँछन्।
‘दुर्घटना हुनेजस्तो स्थान त होइन। तर, बस खस्यो’, स्थानीय अशोक बेल्वासेले भने, ‘भालुबाङ बजारमा बाटो फराकिलो छ। तर, पुलमा जोडिने बेलामा साँघुरो छ। तीव्र गतिमा गुडेको गाडी नियन्त्रणमा आउन कठिन छ। हामीले सकेको उद्दार गर्यौं।’
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गएराति पुलबाट तल राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।
नमस्ते यातायातको बसमा ३६ जना सवार थिए। सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, भालुबाङले जनाएको छ।
प्रतिक्रिया दनुहोस्