काठमाडौं : नेकपा एमालेबाट कारबाहीमा परेका पूर्व उपाध्यक्ष भीम रावलले नेपाली कांग्रेस (विपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशसभाका स्वतन्त्र सदस्य डा तारा जोशीसँग परामर्श लिएका छन् । डडेल्धुराका प्रभावशाली नेता पूर्वसांसद समेत रहेका मल्ल र जोशीसँग उनले आगामी राजनीतिक यात्राका बारेमा गहन छलफल गरेको स्रोतले बताएको छ ।
रावल निवास टोखामा भएको भेटमा वर्तमान अवस्थामा आफूमाथि कसरी घटना घटाइयो भनेर रावलले दुवैजनासँग छलफल गरेको स्रोतले बतायो । साथै उनले अगामी दिनमा नयाँ ढंगबाट राजनीति सुरु गर्ने तयारीका बारेमा पनि दुवैजनासँग कुराकानी गरेको बताइएको छ । ‘पर्सी पत्रकार सम्मेलन गरिसकेपछि तपाईहरुसँग छलफल गरेर म अगाडी बढ्छु’ छलफलमा रावलको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।
छलफलमा सहभागी मल्लले पनि नयाँ शिराबाट राजनीतिमा अगाडी बढ्ने विषयमा कुराकानी भएको बताए । ‘सुदूरपश्चिम र देशका समस्याका बारेमा हरेक निर्वाचनमा समाधान गर्छौ भनेर मौजुदा राजनीतिक प्रतिनिधिहरुबाट आश्वासन दिइन्छ । ती समस्या जहाँका तही छन् । त्यसलाई नयाँ ढंगबाट समाधान गर्ने उपायसहित नयाँ ढंगबाट राजनीतिक शिराबाट अगाडी बढ्ने छलफल भएको छ’ उनले भने ।
भीम रावलले आगामी बुधबार (पुस १७) गते पत्रकार सम्मेलन गर्ने तयारी गेका छन् । त्यही उनले नयाँ पार्टी घोषणा गर्ने सम्भावना रहेको स्रोतले बताएको छ ।
रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका थिए ।
सोही क्रममा रावलले सोमबार सुदूरपश्चिम प्रदेशमा राम्रो पकड भएकाे भनिएका मल्ल र जाेशीसँग परामर्श लिएका हुन् । मल्ल दुई दशकसम्म काँग्रेस सभापति शेरबहादुर देउवाको चुनावी कमाण्डर बनिसकेका छन् । मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापति हुन् । कांग्रेसबाट बिद्रोह गरेर कांग्रेस (विपी)मा गएपछि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मल्लले देउवाविरुद्ध चुनाव लडेका थिए ।
भने, एमाले हुँदै स्वतन्त्र सांसद् बनेका जोशी पनि राजनीतिमा दिग्गज व्यक्ति मानिन्छन् । नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य रहेका उनी २०७९ को निर्वाचनमा डडेल्धुरा प्रतिनिधिसभाअन्तर्गतको प्रदेश सभा २ बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्