धनगढी । मालपोत कार्यालय कैलालीमा थुप्रै काम नलाग्ने सवारी साधन र सामान वर्षौंदेखि थनकाएर राखिएका छन् ।
तर न ती सम्पत्ति प्रयोग गर्न मिल्ने अवस्थामा छन्, न मर्मत गरेर प्रयोगमा ल्याइएका छन्, न त प्रयोगविहीन सामान बेच्नेतर्फ ध्यान नै दिइएको छ । मालपोत परिसरमा ती सम्पत्ति केवल असोभनीय अस्थिपंजर बनेर थन्किएका छन् ।
अहिले मालपोत कार्यालय कैलाली परिसरमा एउटा से १ झ २५१ नम्बरको टोयोटाको कोरोल्ला अल्टिस कार र अर्को जीप थन्काएर राखिएको छ । तर थन्किएको वर्षौं हुँदा पनि ती सवारी साधन चलाउने वा लिलाम गर्ने भन्ने टुंगो लागेको छैन ।
अर्कोतर्फ मालपोत कार्यालय भित्र पनि भाँचिएका, टुटेफुटेका सोफा र कुर्सीहरु पनि यत्रतत्र फालिएका देखिन्छन ।
मालपोत कार्यालय कैलालीका प्रमुख मालपोत अधिकृत प्रेम बहादुर दौल्यालले पनि मालपोत कार्यालयमा थन्किएका सार्वजनिक सम्पत्ति व्यवस्थापन गर्न नसकेको स्वीकार गरेका छन ।
उनले अहिले सेवाग्राहीको चापलाई धान्न सक्ने क्षमता अनुसार मालपोत कार्यालयको भवन र भौतिक संरचना अभाव भएको बताए । ‘२१औँ शताब्दिको चाप धान्न सक्ने क्षमताको संरचनाको अभाव छ’, उनले भने, ‘त्यसैले पनि सार्वजनिक सम्पत्तिको सहि रुपमा व्यवस्थापन गर्न सकेका छैनौँ ।’
यस्तै उनले मालपोत कार्यालयमा थन्किएका सम्पत्तिहरू लिलाम गर्नुपर्ने र नगर्नुपर्ने छुट्याएर लगत संकलन गर्ने काम भइरहेको भन्दै प्रयोगमा नआएका सम्पत्तिको छिट्टै व्यवस्थापन गर्ने बताएका छन ।
दौल्यालका अनुसार नेपाल सरकारले पनि मालपोत कार्यालयमा थन्किएका सार्वजनिक सम्पत्ति लिलाम गर्न पटकपटक परिपत्रसमेत गरिसकेको छ । तर प्रक्रिया मिलाउने काममा ढिलाई हुँदा सम्पत्तिको लिलामी प्रक्रियामा पनि ढिलाई भएको उनले बताएका छन् ।
‘सवारी साधनको लिलामी प्रक्रिया अलि गाह्रो हुने रहेछ, त्यसले गर्दा पनि अलि असहज अवस्था सृजना भएको छ’, उनले भने, ‘सबै प्रक्रिया सक्ने बित्तिकै सबै सम्पत्तिको व्यवस्थापन गर्छौं ।’
प्रतिक्रिया दिनुहोस्