दार्चुला । महाकाली नदी नियन्त्रणका निम्ति बाँध बनाउन भारतले पानी नेपालतर्फ ‘डाइभर्सन’ गरेपछि विवाद भएको छ । महाकालीमा ०७२ सालमा आएको बाढीपछि नदी नियन्त्रणका निम्ति दुवै पक्षबाट बाँध बनाइँदै छ । यसक्रममा नदी डाइभर्सन गर्दा बेलाबेला विवाद हुने गरेको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) यज्ञराज जोशीले नेपालतर्फ बाँध बनाउँदा भारत र भारततिर बाँध बनाउने क्रममा नेपालतर्फ पानी लगाउने (डाइभर्सन) गरिएको बताए ।
“हाम्रोतिर बाँध बनाउँदा पानी भारततर्फ लगाउछौँ, त्यसरी नै उनीहरूले पनि आफ्नोतर्फ बाँध बनाउँदा पानी नेपालतर्फ लगाएको हो,” उनले भने ।
धेरै पानी नेपालतर्फ पठाइएको भन्दै आइतबार स्थानीय भेला भएर विरोध गरिरहेका छन् । विवादपछि सुरक्षा बल त्यहाँ पुगेको र भारतीय पक्षसँग छलफल भइरहेको सीडीओ जोशीले जानकारी दिए ।
नदी डाइभर्सन गर्ने क्रममा सञ्चालित स्काभेटर र चालकलाई रोकेर भारतीय पक्षसँग छलफल भइरहेको उनले बताए ।
“हामीले पनि श्रीबगड भन्ने ठाउँमा बाँध बनाइरहेका छौँ । त्यसका लागि भारततर्फ पानी लगाउँदा उनीहरूले नदीछेउमा भवन रहेको भन्दै प्राविधिक टोलीले छलफल गरेपछि काम अघि बढाउनुपर्ने माग राखेपछि आज दुवै पक्षबीच छलफल भइरहेको छ,” सीडीओ जोशीले भने ।
प्रतिक्रिया दिनुहोस्