काठमाडौँ : पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्ध आजै मुद्दा दर्ता हुने भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सकेसम्म आजै अभियोजन दर्ताको तयारी भइरहेको जनाएको हो । जिल्ला प्रहरी कार्यालयले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायत विरुद्ध १ अर्ब ५१ करोड बिगो माग दाबी गर्नुपर्ने प्रहरीको राय छ ।
प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो । चार दिनको म्याद आज सकिँदैछ । शनिवार सार्वजनिक बिदा हुने भएकाले सकेसम्म आजै वा आइतबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी छ । कानुनबमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने व्यवस्था छ । त्यसका लागि आइतबारसम्म समय छ । त्यसपछि मुद्दा दायर गर्न सकिँदैन ।
संसदीय छानबिन विशेष समितिले पूर्व गृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्य दर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगन्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्ने काममा रविको पनि संलग्नता देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो ।
सो प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा गएपछि सूर्य दर्शनकै बचत ठगी प्रकरणमा गत असोज ६ गते पूर्व डिआइजीसमेत रहेका छविलाललाई काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो भने कात्तिक २ गते रविलाई पक्राउ गरिएको थियो । यसबिचमा उनीहरूलाई रुपन्देहीको बुटवल, चितवन, काठमाडौँ र वीरगन्जमा लगेर पनि बयान गराइएको थियो । सङ्गठित अपराधमा ९० दिनभित्र मुद्दा अदालतमा पेस गरिसक्नुपर्ने व्यवस्था भएकाले रविको हकमा पनि छवि पक्राउ परेर म्याद थपेयताको समय जोडिएको थियो ।
प्रतिक्रिया दिनुहोस्