काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको प्रहरी हिरासतमा सुतिरहेको भनिएको एक सिसिटिभी फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको त्यस तस्वीरको विषयमा अहिले टिकाटिप्प्णीहरु भइरहेका छन् । तस्वीरलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् ।
रास्वपाका नेता कार्यकर्ताहरूले कास्की प्रहरीले लामिछानेको गोपनीयता र मानव अधिकारको उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएका छन् । अर्कातर्फले भने लामिछानेलाई हिरासतमा विशेष सुविधा दिइएको भन्दै आलोचना गरेका छन् ।कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाले भने त्यस फोटोको विषयमा अनुसन्धान भइरहेको बताएका छन्।
जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रवक्ता, डीएसपी वसन्तकुमार शर्माले फोटोको विषयमा अनुसन्धान-छानबिन भइरहेको बताए । त्यो तस्बिर रवि लामिछानेकै हो कि होइन भन्ने प्रश्नमा डीएसपी शर्माले होइन भने भन्न सकेनन् । उनले भने, ‘हो, होइन, त्यो तस्बिर कसरी बाहिरियो, ती सबै कुरा पत्ता लगाउनकै लागि त अनुसन्धान गरिरहेका छौँ ।’
रास्वपाका नेताले उक्त तस्वीर आफ्नै सभापति रवि लामिछानेकै भएको जिकिर गर्दै आपत्ति जनाइरहेका छन्। अर्कातर्फ कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने यो तस्वीर नै रविको होइन भन्ने दाबी गरिरहेका छन्। पोखराको सूर्यदर्शन सहकारी ठगीअन्तर्गत संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा समेत रवि गत कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा छन् ।
पछिल्लो पटक अर्थात् आठौं पटक यही पुस २ गते जिल्ला अदालत कास्कीले रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । कास्की प्रहरीले यही पुस १ गते रविसहित ५१ जनलाई प्रतिवादी बनाउँदै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गराउन राय दिँदै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।
अब सरकारी वकिल कार्यालयले उक्त मुद्दा आउने शुक्रबारभित्र अदालतमा दर्ता गराइसक्नु पर्नेछ । किनकि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि बढीमा ९० दिन मात्र हिरासतमा राख्न पाइने प्रावधान छ । सोही प्रकरणमा रविका व्यावसायिक साझेदार छविलाल जोशी पक्राउ परेको शुक्रबार (पुस ५ गते) ९० दिन पूरा हुँदै छ । जोशी गत असोज ६ गते पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस्