धनगढी । शान्ति पुर्नस्थापना गृहले वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार गृहको कैलाली शाखा कार्यालयले धनगढीको चटकपुरस्थित होटल जियान हस्पिटालिटीमा एक कार्यक्रमकाबीच वार्षिक सामाजिक लेखा परीक्षण सम्पन्न गरेको हो ।
गृहकी संस्थापक अध्यक्ष शान्ति सापकोटाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष खगराज भुषाल प्रमुख अतिथि रहेका थिए भने कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा, उपप्रमुख भुलिया कुमारी राना, मानव अधिकार आयोगका निमित्त प्रमुख झंकर रावल, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) पदम बहादुर बिष्ट, जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी र भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गत आर्थिक वर्षमा संस्थाले गरेका विभिन्न गतिविधिका विषयमा तथ्यांक प्रस्तुत गर्नुका साथै उपलब्धिको विस्तृत विवरण सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशभर ५५ हजार ३ सय ९५ जनालाई काउन्सिलिङ्ग गरिएको छ भने १ हजार ८ सय ६४ जनाको उद्धार गरिएको छ ।
यता कार्यक्रममा सहभागि अतिथिहरुले पछिल्लो समय सुदूरपश्चिममा मानव बेचबिखनको अवस्था डरलाग्दो हुँदै गएको र त्यसको न्यूनिकरणमा शान्ति पुर्नस्थापना केन्द्रले खेलेको भूमिका अतुलनीय रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्