काठमाडौँ : यही मंसिर १६ गते हुने स्थानीय तह उपचुनावका लागि मतपत्र छपाइको काम सकिएको छ । निर्वाचन आयोगले दुर्गम क्षेत्रमा मतपत्रसहितका आवश्यक निर्वाचन सामग्री पठाइसकिएको जनाएको छ ।
आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले मतपत्र छाप्ने काम हिजो सकिएको र २ लाख ५९ हजार मतपत्र छापिएको बताइन् । उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न मात्र समावेश गरी मतपत्र तयार पारिएको आयोगले जनाएको । हरेक पदका लागि छुट्टाछुट्टै मतपत्र छन् ।
पालिकाका रिक्त ४४ पदमध्ये तीन जना निर्विरोध भइसकेकाले अब ४१ ठाउँमा मतदान हुनेछ । निर्वाचन आयोगकाअनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन् ।
साथै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर–२ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्