काठमाडौं : आज सङ्घीय संसद्का चार समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार आज प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ ।
त्यस्तै आजै राष्ट्रिय सभा अन्तर्गतको विधायन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दै छ । बिहान ११ : ३० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुगमन बारे छलफल हुने भएको छ ।
त्यस्तै अपराह्न १ : १५ बजेदेखि बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने भएको छ । त्यस्तै बिहान ११ बजेदेखि बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल हुने भएको छ ।
त्यसैगरी दिनको एक बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्