फूलमा आत्मनिर्भर बन्दै धनगढी, सयपत्री फूल बेचेर तिहारमा मात्रै ७ लाख आम्दानी 

भक्तराज जोशी

धनगढी । धनगढीमा व्यवसायिक फुलखेति गरेर किसानहरुले तिहारमा मनग्य आम्दानी गरेका छन् । धनगढी उपमहानगरपालिकाबाट पुष्प खेतीको तालिम लिएका ६ जना पुष्प व्यवसायीले फुल बेचेर तिहारमा मात्रै ७ लाख रुपैयाँ आम्दानी गरेका हुन ।

जसमध्ये धनगढी-४ बोराडाँडीमा ५ कठ्ठा जग्गामा फुलखेती गरेकी रिता अवस्थीले मात्रै तिहारमा फुल बेचेर १ लाख रुपैयाँ आम्दानी गरेकी छिन । धनगढी उपमहानगरपालिकाले दिएको तालिम, बिउ र विषादीको प्रयोग गरेर तिहारमा १ लाख कमाएको अवस्थीले बताइन ।

‘मैले ५ कठ्ठा जग्गामा फुल र ड्रागनखेति गरेकी छु, धनगढी उपमहानगरपालिकाले दिएको तालिम, बिउ र विषादी प्रयोग गरेको थिएँ, राम्रैसंग फूल फूले’, उनले भनिन, ‘अझ विदेशी फुलको आयात नहुँदा स्थानीय फूलले बजार पाए, बिक्रि पनि राम्रो भयो, फूल बेचेर १ लाख रुपैयाँ पनि आम्दानी गरें ।’

त्यस्तै धनगढी-१२ जुगेडा डि गाउँमा  पुष्पखेती गर्दै आएकी कुमारी आशा पन्त मिश्रले तिहारमा मात्रै ६० हजारको फूल र माला बेचेको बताइन । ‘विगत ४ वर्षदेखि पुष्पखती गर्दै आएकी छु । योबीचमा धनगढी उपमहनागरपालिकाबाट तालिम र बिउ पनि पाएँ’, उनले भनिन, ‘समग्रमा पुष्पखेति राम्रो भएको छ । आम्दानी पनि राम्रै हुन्छ । यो तिहारमा मात्रै ६० हजारको फूल र माला बेचें, तिहारअघि ४०-५० हजारको फूल बिक्री भएको थियो ।’

सुरुमा डेढ कठ्ठाबाट सुरु भएको पुष्प व्यवसाय अहिले ४ कठ्ठामा विस्तार गरेको उनको भनाइ छ । पन्तले विगत ४ वर्षदेखि पुष्प व्यवसाय गर्दै आएकी छिन ।  

यता धनगढी-१३ का किसान पुष्कर सिंह बिष्टले पनि फूलखेतीबाट मनग्य आम्दानी गरेका छन् । यसपालिको दशैँतिहारमा मात्रै २ लाख  बढिको फूल बिक्रि गरेको बिष्टले बताएका छन् । धनगढीलाई फूलमा आत्मनिर्भर बनाउने लक्ष अनुसार उपमहानगरपालिकाले दिएको तालिम र बिउले पनि ठुलो सहयोग पुगेको बिष्टले बताएका छन् ।

धनगढी उपमहानगरपालिकाले दिएको तालिम लिएर पुष्प व्यवसाय गर्दै आएका जोगेन्द्र सेटिले पनि दशैं तिहारमा २ लाख ५० हजार कमाएको बताए । सुरुवातमा २ कठ्ठा जग्गाबाट फूलखेति गरेका सेटिले अहिले पुष्प खेति ६ कठ्ठामा बिस्तार गरेका छन् । आफुले उत्पादन गरेका फूल स्थानीय बजारसंगै काठमाडौँ र नेपालगंज पठाउँदै आएको सेटिले बताएका छन् ।

‘धनगढी उपमहानगरपालिका फ्लोरिकल्चरको टिम पठाएर पुष्प खेतीबारे तालिम दिएकै कारण हामी फूलमा आत्मनिर्भर बनेका छौँ’, उनले भने, ‘यसपाली दशैं तिहारमा ढाई लाखको फूल बेचेँ । राम्रै आम्दानी भइरहेको छ, व्यवसाय राम्रै भइरहेको छ ।’    

त्यस्तै, धनगढीमै ६ बिगाहा जग्गामा पुष्प व्यवसायबाट सुशिला बिष्टले पनि फूलखेतीबाट राम्रै आम्दानी भएको बताएकी छिन । उनले यसवर्ष ४ लाखको फूल बिक्रि गरेको भन्दै फूलखेतीबाट राम्रो कमाई गरिरहेको बताएकी छिन । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार