धनगढीः शनिवार साँझसम्म सुदूरपश्चिममा ६ वटा सवारी दुर्घटना भएका छन्। ती छुट्टाछुट्टै दुर्घटनामा परेर १२ जना घाइते भएको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रले संकलन गरेको विवरणमा उल्लेख छ।
कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा से १ प ९२३१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा ४० वर्षीय पुरुष घाईते भएका छन्। उनको सेती प्रादेस्शक अस्पताल धनगढीमा उपचार भईरहेका प्रहरीले बताएको छ। उनको अवस्था मध्यम रहेको छ।
कैलालीकै कैलारी गाउँपालिका–६ धरमपुरमा से ५ प ४११८ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा ३ वर्षीय बालक नितेन चौधरी घाईते भई भएका छन्। बालकको निर्सग अस्पताल धनगढीमा उपचार भईरहेको छ। उनको अवस्था मध्यम रहेको छ।
यस्तै कैलारी गाउँपालिका–२ बड्कामुडामा सुदूरपश्चिम प्रदेश ०१०११प ६८०५ नम्बरको स्कुटी र सुदूरपश्चिम प्रदेश ०१००१ ह ५७८१ नम्बरको अटो एक आपसमा ठोक्किदा दुर्घटना भएको छ। स्कुटी र अटो आपसमा ठोक्किदा २० वर्षीय युवक सन्देश चौधरी घाईते भएका छन्। घाईते युवकको कैलारी अस्पताल हसुलियामा उपचार भईरहेको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ।
गौरीगंगा नगरपालिका–८ बढैपुरमा सुदूरपश्चिम प्रदेश ०१–००९ प ७५१९ नम्बरको मोटरसाईकललाई सुदूरपश्चिम प्रदेश ०१–०१२ प २१४५ नम्बरको स्कुटीले ठक्कर दिँदा ९ वर्षीय बालक घाईते भएका छन्। बालकको निर्सग अस्पताल धनगढीमा उपचार भईरहेको छ।
धनगढी उपमहानगरपालिका–३ बोराडाँडीमा सुदूरपश्चिम प्रदेश ०१००१ च ३०५८ नम्बरको कारको पछाडी म १ प २७५१ नम्बरको मोटरसाईकल ठोक्किदा ४८ वर्षीय पुरुष घाईते भएका छन्। घाइते पुरुषको स्वस्तिक अस्पताल धनगढीमा उपचार भईरहेको छ।
उता अछाममा ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। घाइते हुनेमा ढकारी गाउँपालिका–१ लयगाउँका ३२ वर्षीय दिनेश रिमाल, उनका १० वर्षीय छोरा लोकेश रिमाल, ४६ वर्षीय धने टमट्टा, ५७ वर्षीय मनराजे टमट्टा घाइते भएका छन्। यस्तै १६ वर्षीया कविता टमट्टा, १७ वर्षीया खिमा टमट्टा र १३ वर्षीया जनधरा टमट्टा घाइते भएका छन्।
उक्त दुर्घटनामा घाइते भएकामध्ये निधार, कम्मर र खुट्टामा चोट भएका दिनेश रिमाल र धने टमट्टाको टाउको र घाँटीमा चोट लागेको छ। दिनेश रिमाल र धने टमट्टालाई थप उपचारका न्याय हेल्थ अस्पताल बयलपाता लगिएको र अन्यको ढकारी स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ।
ढकारीको चाइराबाट परालसहित ११ जना सवार सुदूरपश्चिम प्रदेश ०१००२ त ५१८८ नम्बरको ट्याक्टर राउलासैनमा दुर्घटना भएको हो। पराल बोकेर आइरहेको ट्याक्टर राउलासैनको मोडमा पछाडिको ट्राली पल्टिएर दुर्घटना भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
ट्याक्टरमा सवार रहेका अन्य चार जना भने सकुशल रहेको भण्डारीको भनाइ छ। दुर्घटना भएको ट्याक्टरका चालक सोही गाउँपालिका–१ का २९ वर्षीय लोकबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस्