व्यवसायिक फूलखेतीमा रमाउँदै धनगढीका युवा…

भक्तराज जोशी

धनगढी । धनगढी उपमहानगरपालिका-१२ जुगेडा, सि गाउँका युवाहरु व्यवसायिक फूलखेतीमा व्यस्त छन् ।

४ वर्षअघि २ कट्ठा जग्गामा कृतिका सिंहले सुरु गरेको फूलखेतीमा अहिले थुप्रै युवाहरु आकर्षित बनेका छन् । हाल युवाहरुले धनगढी उपमहानगरपालिकाले दिएको तालिममार्फत सीप हासिल गरेर सामूहिक रुपमा फूलखेती गर्दै आएका छन् ।

dashain shuvakamana
Discovery School

उपमहानगरपालिकाले दिएको तालिम लिएर सुरुमा जुगेडाकी कृतिका सिंह, सागर बोगटी र बिक्रम सिंहले व्यवसायिक फूलखेती सुरु गरेका थिए । हाल उनीहरुले ५ कट्ठामा व्यवसायिक फूलखेती गर्दै आएका छन् । अहिले उनीहरुले ठूलो क्षेत्रफलमा सयपत्री फूल फूलाएका छन् ।

व्यवसायिक रुपमा सुरु गरेको फूलखेतीबाट कृतिकासहितका युवाहरुले राम्रै आम्दानीसमेत गर्दै आएका छन् । अझ फूलको अत्याधिक प्रयोग हुने तिहार नजिकिँदै गर्दा सयपत्रि फूलको माग उच्च हुने हुँदा सयपत्री फूलको व्यवसायिक खेती गर्दै आएको कृतिका सिंहले बताएकी छिन् ।

‘वर्षभरी बिक्री भइरहने सयपत्री फूल दशैँ तिहारमा झन् धेरै खपत हुन्छ । अझ तिहारमा सयपत्री फूलको माग अन्य समयको तुलनामा उच्च हुन्छ’, कृतिकाले भनिन्, ‘त्यसैले अहिले सयपत्री फूलखेती गरेका छौँ । यसपालिको तिहारमा फूलले राम्रै मूल्य पाउने अपेक्षा छ ।’

त्यसो त उनीहरुले गतवर्ष फूलको बिक्रीमार्फत मुनाफा मात्रै करिब ३ लाख गरेका थिए । सोही अनुसार यसवर्ष करिब ५ लाख रुपैयाँ आम्दानी हुने अपेक्षा उनीहरुको छ ।

तर, खुला नाकाका कारण धनगढीमा भारतीय फूल छ्याप्छ्याप्ती हुँदा स्थानीय फूलले बजार नपाउने डर भएको सयपत्री फूलखेती गरिरहेका सागर बोगटीले बताएका छन् ।

‘चाडपर्व नजिकिँदै गर्दा फूलको माग उच्च भएपछि फूलखेती गर्ने हामी सबै उत्साहित भएका छौँ’, उनले भने, ‘तर बजारमा चाडपर्वका बेला भारतबाट फूल र माला धेरै आयात हुन्छ, जसले गर्दा स्थानीय व्यापारीलाई भारतीय फूलमालासँग प्रतिपर्धा गर्न मुस्किल पर्छ ।’

उनले देशमै केही गर्न खोजिरहेका युवाहरुलाई लक्षित गरेर सरकारले नयाँ नयाँ कार्यक्रम ल्याउनुका साथै स्थानीय फूलको बजारीकरणमा ध्यान दिए झनै राम्रो हुने उल्लेख गरेका छन् ।

अर्कोतर्फ व्यवसायिक फूल खेती गरिरहेका बिक्रम सिंहले पनि फूलखेतीमा भविष्य भए पनि उचित व्यवस्थापन र बजारीकरणमा समस्या हुँदा मर्का परेको गुनासो गरेका छन् । उनले उत्पादन गरेको फूल भण्डारण गरेर राख्न व्यवस्थित कोल्ड स्टोरको अभाव हुँदा समस्या परेको बताएका छन् ।

‘उत्पादित फूल भण्डारण गरेर राख्न आफ्नै कोल्ड स्टोर छैन, भाडा तिरेर राख्दा उत्पादनको लागत बढ्छ’ उनले भने, ‘उत्पादन भएका फुल सरकारी निकायबाट एउटा कोल्ड चेम्बर वा स्टोरको व्यवस्था गरिदिए किसानलाई अझै सजिलो हुने थियो ।’

सिंहले अवसर देखाएर व्यवस्थापनमा ध्यान नदिँदा स्थानीय स्तरका व्यवसाय र व्यवसायी मर्का परेकोले त्यसतर्फ ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार