धनगढी । धनगढीको निसर्ग अस्पतालले सडक दुर्घटनामा घाइते भएका भानु जोशीको नि:शुल्क उपचार गरिदिएको छ । ६ महिनाअघि दुर्घटनामा परेर गम्भीर घाइते भएका बझाङ्गका जोशीको अस्पतालले नि:शुल्क उपचार गरेको हो ।
आर्थिक अवस्था साह्रै कमजोर भएका जोशीको परिवारले उपचारको खर्च तिर्न नसकेपछि उपचार खर्च मिनाहा गरेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार जोशीको उपचारमा २ लाख ७२ हजार १ सय ५० रुपैयाँ खर्च भएको थियो ।
तर उक्त खर्च तिर्न सक्ने अवस्था जोशीको परिवारको सामर्थ्य नभएपछि उपचारमा लागेको सम्पुर्ण खर्च मिनाह गरिएको हो । उक्त रकम अस्पतालले सामजिक उत्तरदायित्य अन्तर्गत मिनाह गरेको अस्पतालका अध्यक्ष तिर्थराज पन्तले बताएका छन् ।
पन्तका अनुसार ४५ दिनसम्म अस्पतालमा उपचार गराएका जोशी सोमबार डिस्चार्ज भएर घर गएका छन् ।
त्यसो त दुर्घटनामा गम्भीर घाइते भएका जोशीको पहिलो चरणको शल्यक्रिया बीमा कम्पनीले व्यहोरेको थियो । तर दोस्रो चरणको शल्यक्रियाका लागि खर्च नहुँदा जोशीको परिवार तनावमा परेको थियो । यहीबीच निसर्ग अस्पतालले नि:शुल्क उपचार गरिदिएपछि भानुका बुवा धने जोशीले अस्पताललाई धन्यवाद दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्