बैतडी : बैतडीको पाटन नगरपालिकामा डेंगु नियन्त्रणका लागि लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान जारी छ । स्वास्थ्य कार्यालयले डेंगु नियन्त्रणका लागि सञ्चालन गरेको लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरुले निरन्तरता दिइरहेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।
लामुखुट्टेको टोकाइबाट डेंगु सर्ने भएकाले यसको नियन्त्रणका लागि लामखुट्टेको लार्भा हुन सक्ने ठाउँको खोजी गरी नष्ट गर्ने अभियान जारी रहेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका प्रमुख प्रेमसागर भट्टले बताए । वडा नम्बर ८ स्थित सिद्धेश्वर स्वास्थ्यचौकीले र वडा नम्बर ९ स्थित टकरे आधारभूत स्वास्थ्य सेवा केन्द्रले सेवा क्षेत्रभित्र लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरेको जनाएको छ ।
पाटनमा यो महिनामात्रै अहिलेसम्म ९ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ भने एक जनामा मलेरिया र ५६ जनामा स्क्रब टाइफस पुष्टि भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्