भाँचिएको बाँया हात, दाँया हातमा प्लास्टर गरियो !

बझाङ : बझाङमा बाँया हात भाँचिएर उपचारका लागि आएका एक जना बालकको दायाँ हातमा प्लास्टर गरिएको तस्विर मंगलबार साँझदेखी सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीहरुको लापर्बाहीले यस्तो भएको भन्दै अस्पतालका कर्मचारीहरुलाई सञ्जाल प्रयोगकर्ताहरुले गाली गरिरहेका छन् ।

अस्पतालले बिरामीको उपचारमा गम्भीर लापरबाही गरेको भन्दै मंगलबार केही बेर विप्लव समर्थक कार्याकर्ताहरुले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी समेत गरेका थिए । भाइरल भएका ती बालक बझाङको दुर्गाथली गाउँपालिकाका-७, दौलाका सात वर्षीय सुनिल दौल्याल हुन् । आइतबार साँझ घरको ढोका नजिकै अरु बालक सँग खेल्ने क्रममा लडेका सुनिललाई उहाँकै दाइ आदेश दौल्यालले सोमबार जिल्ला अस्पताल सिमखेत पुर्याएका थिए ।

Dengue

सोमबार दिउँसो तीन बजे अस्पताल पुर्‍याइएका उनको एक्स-रे गर्दा बाँया हातको कुइनामा भाँचिएको देखियो । चिकित्कसले शल्यक्रिया गर्नु पर्ने भन्दै सुनिललाई वार्डमा भर्ना हुन लगाए । केही बेरमा आएका नर्सहरुले हातमा प्लास्टर गर्नु पर्ने भनेर बालकलाई अर्को कोठामा लगे । कुरुवा गएका आदेश सोही कोठाको बाहिर राखिएको कुर्सिमा बसेका थिए । प्लास्टर सकिए पछि ‘भोलि अपरेसन हुन्छ’ भन्दै स्वास्थ्यकर्मीले सुनिललाई आदेशको जिम्मा लगाए । 

आदेश पनि सुनिललाई लिएर अस्पतालको क्यान्टिनमा खाना खान जानुभयो । ‘क्यान्टिनमा पुगे पछि हेर्दा त भाँचिएको हातमा नभई अर्को हातमा प्लास्टर गरिएको रहेछ,’ आदेशले भन्नुभयो, ‘मैले भिडियो बनाउँदै गरेको देखेपछि क्यान्टिनका कर्मचारीले डाक्टरलाई खबर गरेछन् । तुरुन्तै आएर भाइलाई भित्र लगे । पहिलाको प्लास्टर फालेर फेरि अर्को हातमा लगाइदिए ।’ गल्तीले अर्को हातमा प्लास्टर भएछ भन्दै स्वास्थ्यकर्मीहरु आए फेरि प्लास्टर गरेको उहाँले जानकारी दिनुभयो ।

मंगलबार साँझ हात भाँचिएका बालकको शल्यक्रियापछि बुधबार अस्पतालले उनलाई डिस्चार्ज गरेको छ । भाँचिएका हड्डीलाई तारको सहयोगले जोडेर बालकको शल्यक्रिया गरिएको जिल्ला अस्पताल बझाङका हाडजोर्नी विषेशज्ञ डाक्टर दीपक खड्काले बताउनुभयो । शल्यक्रिया गर्नु पूर्व भाँचिएको हात थप नबिग्रियोस भनेर सपोर्ट लगाउने क्रममा उक्त कमजोरी भएको उहाँले स्वीकार गरे । 

प्लास्टर गर्ने क्रममा अस्पतालका कर्मचारीको कमजोरी भएको भन्दै डाक्टर खड्काले यो मानविय त्रुटी भएको बताए । ‘प्राय यस्तो केस मैले आफैले हेर्ने गर्थें । त्यो दिन खुट्टा भाँचिएको अर्को गम्भीर बिरामी आएकोले म इमर्जेन्सीमा जान्छु । बच्चाको हातमा सर्पोट लगाइदिनु भनेर तल झरें । उनीहरुले अर्कै हातमा सर्पोट लगाइ दिएछन्,’ खड्काले भन्नुभयो, ‘कहिले काँही यस्तो ह्युमन इरर हुन्छ । मैले थाहा पाउने बित्तिकै आधा घण्टा भित्रै सच्याएका हौं ।’

उनले बालकको शल्यक्रिया सफल भएपछि डिस्चार्ज गरिएको पनि जानकारी दिनुभयो । जिल्ला अस्पतालका प्रमुख डा. नवराज जोशीले भने हाडजोर्नी विषेशज्ञ डा. खड्कासहितको टोलीले यस्तो कमजोरी गरेको बताउनुभयो । ‘घटनाको बेला म अर्को अपरेसनमा ब्यस्त थिएँ । पछि बुझ्दा अर्थो डाक्टरसहितको टोलीबाट यस्तो कमजोरी भएको रहेछ,’ उनले भने, ‘कसरी यस्तो लापर्बाही भएको हो यस बारेमा थप बुझ्दै छौं ।’ उनले यो घटनाको छानबिन गरिने बताए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

29%

दु :खी

57%

अचम्मित

0%

उत्साहित

14%

आक्रोशित

सम्बन्धित समाचार