धनगढी : जिल्ला प्रशासन कार्यालय बैतडीले कर्मचारी र सवारी साधनलाई अनुमति विना जिल्ला नछोड्न निर्देशन दिएको छ । प्रशासन कार्यालयले एक सूचना जारी गर्दै विपद्को समयमा परिचालित हुनुपर्ने भएकाले जिल्ला नछोड्न भनेको हो ।
प्रमुख जिल्ला अधिकारी भीमकान्त शार्माद्धारा जारी सूचनामा मौसम पूर्वानुमान महाशाखाबाट अझै केही दिन वर्षा लम्बिन सक्ने सूचना प्राप्त भएकाले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१ बमोजिम सबै कलस्टरहरुलाई सक्रिय पारिएको उल्लेख छ । प्रशासनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी रहेको क्वीक रेस्पोन्स टिमलाई स्टेण्ड बाई राखिएको जनाइएको छ ।
प्रशासनले विपद्मा सहयोग पु-याउन सबै राजनीतिक दल सामाजिक संघ सस्थालाई पनि आग्रह गरेको छ । निरन्तर वर्षाको कारण बाढी पहिरोको जोखिम बढेकोले सम्पूर्ण जिल्लाबासीहरुलाई उच्च सतर्कता अपनाउन समेत प्रशासनले आग्रह गरेको छ ।
प्रशासनले सूचना मार्फत सिगास गाउँपालिका – ५ ढुंगाडमा रहेको बस्तीका बासिन्दाहरुलाई सेती नदीको बाढीको उच्च जोखिम रहेकोले शारदा माबिमा स्थानान्तरण गरी त्रिपाल लगायत विपद् सामग्रीको व्यवस्थापन गर्न सिगास गाउँपालिकालाई अनुरोध गरीएको जनाएको छ ।
यस्तै खोड्पे देखि ढोल्यामोड सम्मको जयपृथ्वी राजमार्ग पटक पटक अवरुद्ध भएकोले नीजि तथा सडक डिभिजन कार्यालयको जेसीबीद्वारा प्रहरी समेतको सहयोगमा खुलाइएको प्रशासनले जनाएको छ । सडक डिभिजन कार्यालयको जेसीबीलाइ वर्षा अवधिभर खोड्पे क्षेत्रमा राख्ने प्रबन्ध मिलाइएको प्रशासनले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्