काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जनतामा भ्रम छर्ने काम नगर्न अनुरोध गरेको छ ।
सोमबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले ‘१० हजार करोड काण्ड’ लुकाउन र जनतालाई भुलाउन जनतामा भ्रम नछर्न अनुरोध गरेका हुन् ।
‘आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो,’ बालेनले भनेका छन् ।
उनले न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथमा फेरि सडक निर्माण थालिएको भन्दै आपत्तिसमेत जनाएका छन् ।
‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनु होला केपी ओलीज्यू, झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ’ भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन,’ बालेनले लेखेका छन्, ‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ ।’
प्रतिक्रिया दिनुहोस्