काठमाडाैं : कतारी अमिर (राजा) को स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने भएका छन् । अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलमा पुगेर स्वागत गर्ने भएका हुन् ।
कतारी अमिर साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयले अमिर नेपाल आउन लागेको आधिकारिक घोषणा गरेको थियो । उनको भ्रमणको नेपाली पक्षबाट लगभग सबै तयारी पूरा भइसकेको छ ।
नेपालमा रहँदा अमिर शेखले राष्ट्रपति पौडेलसँग भेटवार्ता पनि गर्नेछन् भने राष्ट्रपति पौडेलले कतारका अमिर शेखको सम्मानमा राजकीय भोजको समेत आयोजना गरेका छन् । अमिरले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्नेछन् ।
वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । अमिर शेख पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी बुधबार स्वदेश फर्किनेछन्।
प्रतिक्रिया दिनुहोस्