काठमाडौं : पाँच वर्षअघि ठीक आजकै दिन (३ अप्रिल, २०१९) विश्वमा पहिलो पटक व्यावसायिक फाइभजी सेवा सार्वजनिक भएको थियो । दक्षिण कोरियामा त्यहाँको दूरसञ्चार प्रदायक एसके टेलिकमले विश्वमै मोबाइल सेवाको पछिल्लो पुस्ता सुरूवात गरेको थियो ।
एसके टेलिकमसँगै केटी, एलजी अप्लस लगायत प्रमुख दक्षिण कोरियाली मोबाइल अपरेटरहरूले अप्रिल २०१९ मा आफ्नो फाइभजी सेवा सुरू गरेका थिए । सियोल, बुसान र केही अन्य सहरहरू उच्च गतिको मोबाइल नेटवर्कको अनुभव गर्ने पहिलो सहर बने ।
त्यसलगत्तै विभिन्न विकसित देश फाइभजी प्रविधि अवलम्बनतर्फ सफल बने । एरिक्सन मोबिलिटी रिपोर्ट अनुसार २०२३ को अन्त्यसम्म विश्वभर फाइभजीका १.४ अर्ब प्रयोगकर्ता थिए ।
अहिले थुप्रै स्मार्टफोन ब्रान्डले फाइभजी सपोर्ट गर्छन् । यही प्रविधिका कारण इन्टरनेट चलाउने मान्छेको शैली बदलिएको छ । तर फाइभजी प्रविधि पनि समस्याविहीन भने छैन । यसको विकास र विस्तारसँगै विभिन्न समस्या र चुनौती आएका छन् ।
अहिले पनि फाइभजीभन्दा फोरजीको पहुँच बढी छ । अमेरिकाकै कतिपय ठाउँमा फाइभजी पुगेको छैन । अनि फोरजीको तुलनामा फाइभजी निकै महँगो प्रविधि हो । फाइभजी विस्तार गर्न निकै खर्चिलो छ । त्यसमाथि फाइभजीले फोनको ब्याट्री पनि चाँडो सक्ने बताइन्छ ।
वर्तमान अवस्थमा फाइभजीमा यी सहित अन्य विविध समस्या रहेका छन् । त्यसो भन्दै गर्दा उच्च गतिको इन्टरनेट र राम्रो पर्फर्मेन्स हुनु यसका फाइदा हुन् ।
हाम्रै छिमेकी देश चीन र भारतले फाइभजी सेवाको सफल प्रयोग गरिरहेका छन् । भारतमा सन् २०२४ को अन्त्यसम्म फाइभजी प्रयोगकर्ताको सङ्ख्या २० करोड पुग्ने अपेक्षा छ ।
नेपालमा भने यो प्रविधि अहिलेसम्म व्यावसायिक रुपमा भित्रिएको छैन । नेपाल टेलिकमले यसको परीक्षण गरिरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई फाइभजी परीक्षणका लागि २६ मेगाहर्ज ब्यान्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी दिएको छ ।
यस अन्तर्गत अहिलेसम्म बबरमहल, सुन्धारा, पोखरा र वीरगन्जमा फाइभजी उपकरणहरू जडान गरी परीक्षण कार्य पूरा भएको टेलिकमले बताएकाे छ । तर थप प्रगति भने भएकाे देखिँदैन ।
फोरजीको बीटीएसले भन्दा फाइभजीको बीटीएसले धेरै ऊर्जा खपत गर्छ । त्यस्तै पूर्वाधार तयार गर्नुपर्ने हुन्छ । हाम्रो फाइभजीको र्यान आपूर्तिकर्ता एउटा छ भने कोर भेन्डर अर्को छ । दुवैलाई आपसमा जोड्नुपर्ने आवश्यकता छ । यसरी आवद्ध गर्नका लागि परीक्षणको काम भइरहे पनि सर्वसाधारणले कहिले फाइभजी अनुभव लिन पाउँछन्, त्यो स्पष्ट छैन ।
के हो फाइभजी ?
फाइभजी तीव्र इन्टरनेटको यस्तो संसार हो, जहाँ धेरै काम क्षणभरमै सम्भव छ । फाइभजीको दुनियाँमा उपकरणहरूले आपसमै सञ्चार गर्नेछन् र एउटा उन्नत किसिमको नेटवर्क तयार हुनेछ ।
फाइभजीमा स्पिड मात्र फास्ट हुने छैन, यसले प्रविधि विश्वको अनुभवलाई नै अर्को स्तरमा लैजानेछ । यदि तपाईं अहिले मोबाइल डेटाबाट स्मार्टफोनमा इन्टरनेट चलाइरहनु भएको छ भने फोरजी, एलटीई वा थ्रीजी लेखिएको देखाइरहेको होला । यसमा लेखिएको जीको अर्थ जेनेरेसन अर्थात पुस्ता हो । मानव पुस्ता जस्तै यो नेटवर्कको पुस्ता हो ।
सन् १९८० मा सबैभन्दा पहिला वान जी आएको थियो । यसमा केवल कल गर्न सकिने सुविधा थियो । डिभाइस पनि एकदमै स्लो र गह्रौं हुने गर्दथे ।
त्यसपछि सन् १९९० मा टुजी आयो । यसमा कलसँगै म्यासेजको सुविधा पनि मिल्न थाल्यो । साथै यसमा जीपीआरएस पनि चलाउन मिल्थ्यो, तर इन्टरनेट स्पिड निकै स्लो थियो । जीपीआरएसको प्रयोग खासगरी ईमेल तथा स-साना साइजका फाइलहरू ट्रान्सफर गर्नका लागि हुने गर्दथ्यो ।
सन् २००३ मा थ्रीजी आएसँगै नेटवर्कको दुनियाँमा एउटा क्रान्तिकारी परिवर्तन देखा पर्यो । थ्रीजीले इन्टरनेट प्रयोगको अनुभवलाई नै बदलिदियो । फोनमा इन्टरनेट कनेक्टिभिटी निकै तीव्र भयो ।
यहाँसम्म कि फोनमा कुनै फिल्म डाउनलोड गरेर हेर्न सकिने कुरा सम्भव भयो । त्यसपछि सन् २००९ मा नेटवर्कको विकास थप एक कदम अगाडि बढ्यो । त्यसमा फोरजी आएको थियो ।
फोरजी नेटवर्कमा १०० एमबीपीएसको स्पिड थियो । जसबाट एचडी क्वालिटीको भिडिओ कल सम्भव भयो । त्यसैले त अहिले भिडिओ कन्फ्रेन्सिङ एपहरुको जमाना छ । हाई डेफिनेसन गेमहरू अनलाइनमै खेल्न सम्भव भएको छ ।
फोरजीले स्मार्टफोनलाई एउटा सानो कम्प्युटरको स्थानमा उभ्याइदियो । अब फोरजी पछिको पुस्ता, अर्थात् फाइभजीको कुरा गरौं ।
यहाँसम्म आइपुग्दा तपाईंले पक्कै सोचिरहनु भएको हुनसक्छ, फाइभजी कति फास्ट होला ? साँच्चिकै यो फोरजीको तुलनामा सय गुणा बढी फास्ट हुनेछ ।
एउटा उदाहरणकै रुपमा हेरौं है त ! थ्रीजी नेटवर्कमा एक वा दुई घण्टाको एचडी फिल्म डाउनलोड गर्न २६ घण्टा लाग्ने गर्दथ्यो ।
फोरजीले यो समयलाई घटाएर पाँच सात मिनेटसम्ममा सीमित गरदियो । अब फाइभजी आएपछि यो समय ३.५ सेकेन्ड वा त्यसभन्दा पनि कममा झर्नेछ ।
फाइभजीमा मसिनहरुले आपसमा कुराकानी गर्नेछन् । कमान्ड दिएकै भरमा स्वचालित रुपमा अनेकौं काम सम्भव हुनेछ ।
फाइभजीले यति तीव्र रुपमा काम गर्नुको पछाडि यसले मिलिमिटर वेबको भूमिका रहेको हुन्छ । यो एक किसिमको रेडियो तरंग हो ।
हाम्रो स्मार्टफोन तथा अन्य स्मार्ट डिभाइस यिनै मिलिमिटर वेबबाट आपसमा जोडिएका हुन्छन् । यदि कुनै स्थानमा धेरै स्मार्टफोन छन भने यो फ्रिक्वेन्सी बाँडिन पुग्छ र नेटवर्क स्लो हुन थाल्दछ ।
अहिलेको समयमा यो मिलीमिटर वेब ६ गिगाहर्जमा काम गर्दछ । तर फाइभजी आएपछि यो बढेर ३० देखि ३०० गिगाहर्जमा काम गर्नेछ ।
फोरजी नेटवर्कको कुरा गर्ने हो भने ५०० वर्ग किलोमिटरमा १० लाख डिभाइस कनेक्ट हुन सक्छन् । जब कि फाइभजीमा केवल एक वर्ग किलोमिटरमै १० लाख डिभाइस कनेक्ट गर्ने क्षमता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्