इलाम उपनिर्वाचनका ४ नयाँ परिदृश्य

धनगढी : आगामी १५ वैशाखमा उपनिर्वाचन हुँदैछ। प्रतिनिधि सभा र प्रदेश सभाका एक-एक क्षेत्रमा निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको हो। 

यी दुईमध्ये इलाम क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। नेकपा एमालेका नेता सुवास नेम्बाङको गत भदौ २६ गते निधन हुँदा यो स्थान रिक्त छ। 

Dengue

यो क्षेत्रमा हुने उपनिर्वाचनलाई राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रतिष्ठाको विषय बनाएका छन्। फेरिएको सत्ता समीकरण, नयाँ राजनीतिक दल, पहिचानवादी मुद्दा र स्वतन्त्र उम्मेदवारको चर्चाले यहाँको चुनाव रोचक हुने देखिएको छ। 

०७९ मंसिर ४ गते भएको निर्वाचनको तुलनामा अब हुने चुनावमा केही फरक दृश्य देखिँदैछन्। 

छैनन् हेभिवेट नेता
पुरानादेखि नयाँ राजनीतिक दलले इलाम–२ का लागि उम्मेदवार छान्ने काम तीव्र बनाएका छन्। यो एमालेका हेभिवेट नेता स्व. सुवास नेम्बाङले निरन्तर जित हात पार्दै आएको क्षेत्र हो। 

हेभिवेट नेताको चर्को प्रतिस्पर्धा रहने यो क्षेत्रमा यो पटक हेभिवेट अनुहार देखिएका छैनन्। एमालेका तर्फबाट स्व. नेम्बाङका पुत्र सुहाङलाई मैदानमा उतार्ने तयारी एमालेको छ। 

एमालेका एक शीर्ष नेताका अनुसार सुहाङलाई चुनावी तयारीका लागि पार्टी केन्द्रबाट निर्देशन भइसकेको छ। उता, नेपाली कांग्रेसले उम्मेदवारको औपचारिक तय गरेको छैन। 

अघिल्लो निर्वाचनमा नेम्बाङसँग झिनो मतान्तरले हार ब्यहोरेका डम्बरबहादुर खड्का यो पटक पनि चुनाव लड्ने तयारीमा छन्। उनी कांग्रेस इलामका जिल्ला सभापति हुन्। 

रास्वपाले यहाँ एक महिनादेखि चुनाव लक्षित कार्यक्रम अघि बढाएको छ। रास्वपाले यहाँ योग्य उम्मेदवारको खोजी गरिरहेको छ।

उसले उम्मेदवार छनोटका लागि प्रारम्भिक निर्वाचन नै गर्ने भएको छ भने पार्टी सभापति रवि लामिछानेले नै उम्मेदवारको औपचारिक घोषणा गर्ने बताइएको छ।

कांग्रेसलाई धक्का
अघिल्लो निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीसहितको गठबन्धन थियो। उम्मेदवार थिए– डम्बरबहादुर खड्का। 

उता, एमाले एक्लै निर्वाचनमा होमिएको थियो। 

गठबन्धनसहितको भोट पाएका खड्का अन्तिम समयमा झिनो मतान्तर (११४ भोट) ले पराजित भएका थिए। उनले पुनः मतगणना हुँदा आफ्नै जित भएको दाबी अहिलेसम्म पनि गर्ने गरेका छन्। 

तर, यो पटक परिस्थिति फेरिएको छ। केन्द्रमा एमाले, माओवादी, रास्वपासहितको गठबन्धन बनेको छ।

केन्द्रमा फेरिएको सत्ता समीकरणले इलाम उपनिर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्ने बाध्यतामा छ। समीकरण फेरिएकै कारण पनि निर्वाचन जित्न सहज नहुने इलाम कांग्रेसका नेताहरूको बुझाइ छ। 

सोही बुझाइका कारण पनि यो पटक कांग्रेसका नेताहरू टिकटका लागि मरिहत्ते गरिरहेका छैनन्। 

पहिचानवादीका बेग्लै उम्मेदवार
कोसीको प्रदेश नामाकरणबाट सुरु भएको पहिचानको आन्दोलन पूर्वमा पेचिलो बन्दै गएको छ। जसको प्रभावस्वरुप पहिचान पक्षधरहरूले इलामको उपनिर्वाचनमा डकेन्द्रसिंह थेगिम लिम्बूले उम्मेदवारी दिने बताएका छन्।
 
‘प्रदेश नम्बर १ पुनः नामाकरण संयुक्त संघर्ष’ समितिले काठमाडौँमा पत्रकार सम्मेलन गरेर लिम्बूलाई उम्मेदवार बनाउने औपचारिक घोषणा गरिसकेको छ। 

जातीय ‘सेन्टिमेन्ट’ले प्रभाव पार्ने यो क्षेत्रमा उनको उम्मेदवारीले ठूला भनिएका दलको भोट काट्नसक्ने आकलन स्थानीयको छ। 

लिम्बू शिक्षण पेसाबाट राजनीतिमा आएका हुन्। उनी नामाकरण संघर्ष समितिका अध्यक्ष पनि हुन्। उपनिर्वाचनलाई पनि आन्दोलनकै रुपमा उपयोग गर्ने सो अभियानका सदस्य बताउँछन्। 

उम्मेदवारी घोषणाको विज्ञप्तिमा भनिएको छ, ‘उपनिर्वाचनलाई आन्दोलनकै रुपमा उपयोग गर्नेगरी डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने निर्णय गरेका छौँ।’

दलीय आवद्धता त्यागेर पत्रकारसमेत रहेका मिलन लिम्बुले पनि यो क्षेत्रबाट उम्मेदवारी घोषणा गरेका छन्। उनी काठमाडौंबाट उम्मेदवारी घोषणा गरेर निर्वाचन क्षेत्र पुगेका हुन।

पहिचानवादीको आन्दोलन चर्किएकै बेला उपनिर्वाचनसमेतलाई आन्दोलनको रुपमा उपयोग गर्ने यो अभियानको रणनीतिले चुनावी परिणामलाई बेग्लै असर पार्नसक्छ। 

सम्पूर्ण शक्ति लगाउँदै रास्वपा
अघिल्लो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि बिल्कुल पहिलो र नयाँ चुनावी अनुभव थियो। 

यो क्षेत्रमा रास्वपा प्रतिस्पर्धामै आउन सकेन। विजयी उम्मेदवार नेम्बाङले ३० हजार भोट कटाउँदा रास्वपाका उम्मेदवारले जम्मा १ हजार ३ सय ६३ मत पाएका थिए। 

यहाँ रास्वपाले प्रकाश सापकोटालाई उम्मेदवार बनाएको थियो। 

तनहुँ–१ को उपनिर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति खर्चिएको रास्वपाले यहाँ पनि सोही रणनीति अवलम्बन गरिसकेको छ। 

संघीय सांसदहरूलाई नै प्रत्येक पालिकाको ‘टास्क’ दिएर जनभावना बुझ्ने काम गरिसकेको छ। रास्वपाका नेताहरूका अनुसार यहाँ पहिचानवादीको भोटसमेत ट्रान्सफर गर्नेगरी उम्मेदवार तय गर्ने रास्वपाको रणनीति छ। 

सोही तयारीका लागि विगत केही हप्तादेखि रास्वपाले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाममा खटाएको छ। इलामको वस्तुस्थिति नियालेर फर्किएका बुर्लाकोटीका अनुसार अहिलेसम्म जम्मा एक जनाको मात्रै उम्मेदवारी परेको छ। 

उनले उम्मेदवारसँगको वाचाका कारण पनि नाम खुलाउन भने नमिल्ने उनले बताए। 

‘अहिलेलाई यत्ति भनौँ, उम्मेदवारी पर्न सुरु भयो, एक जनाको उम्मेदवारी पर्‍यो,’ बुर्लाकोटीले भने।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार