मिर्गौला रोगबाट बच्न के गर्ने ?

धनगढी : विश्व मिर्गौला दिवस ‘स्वस्थ मिर्गौला सबैका लागि- उपचार र हेरचाहमा समतामूलक पहुँचको विकासका लागि अगाडि बढौँ’ भन्ने मूल नाराका साथ मनाइँदै छ । नेपाललगायत विश्वभर मिर्गौला रोग बढ्दो समस्याका रूपमा आएको छ । हरेक देशमा कुल जनसंख्याको औसत करिब १० प्रतिशत व्यक्तिहरू कुनै न कुनै प्रकारको मिर्गौला रोगबाट प्रभावित भएको तथ्यांक छ । नेपालमा करिब ३० लाख व्यक्तिमा मिर्गौलासम्बन्धी विभिन्न रोग लागेको र ३ लाख व्यक्तिमा मिर्गौला रोगको समस्या जटिल रूपमा रहेको अनुमान विज्ञहरूको छ ।

युवायुवती तथा वृद्धवृद्धालाई मात्र लाग्ने रोग भनेर मिर्गौला रोगलाई बुझिए पनि धेरै बालबालिकाहरूलाई मिर्गौला रोगले प्रभावित पारेको छ । नेपालको कुल जनसंख्याको करिब ४५ प्रतिशत बालबालिका छन् । समयमा मिर्गौलाको हेरचाहमा ध्यान नपुर्‍याउँदा धेरै बालबालिकाहरूको अल्पायुमै ज्यान गुमेको छ भने कति जना कालान्तरसम्म यस रोगको समस्या लिएर बसिरहेका छन् ।

नेपालमा कति बालबालिकाहरू मिर्गौला रोगबाट ग्रस्त छन् भन्ने यकिन तथ्यांक त छैन तर नेपालको शिक्षण अस्पतालमा भर्ना भएका बालबालिकाहरूमाथि एक वर्षसम्म गरिएको अध्ययनले करिब ७ प्रतिशत बालबच्चाहरूमा कुनै न कुनै प्रकारको मिर्गौला रोग लागेको भेटिएको थियो । मिर्गौलाले दूषित पदार्थ र रगतमा जम्मा भएको बढी पानी पिसाबको रूपमा बाहिर फाल्छ । यसबाहेक रक्तचाप सन्तुलनमा राख्ने, हाडलाई स्वस्थ राख्ने र रगत बनाउने कार्यमा मिर्गौलाको महत्त्वपूर्ण भूमिका रहन्छ ।

गर्भावस्थामा आमाले धूमपान गर्नु हुँदैन । आमालाई उच्च रक्तचाप तथा मधुमेह छ भने त्यसलाई सन्तुलनमा राख्नुपर्छ ।
बालबालिकामा मिर्गौला रोग लाग्ने विभिन्न कारणहरू हुन्छन् । कोही जन्मदै मिर्गौलामा समस्या लिएर जन्मेका हुन्छन् । बालबच्चाहरूको मिर्गौला कति स्वस्थ हुन्छ भन्ने निर्णय आमाको गर्भमा हुँदादेखि नै हुन्छ । आमाले कतिको पोसिलो खानेकुरा खाएको छ र गर्भावस्था हुँदा गरिएको क्रियाकलापबाट नै गर्भमा रहेको शिशुको मिर्गौलाको भविष्य निर्धारण हुन्छ ।

गर्भावस्थामा आमाले धूमपान गर्नु हुँदैन । आमालाई उच्च रक्तचाप तथा मधुमेह छ भने त्यसलाई सन्तुलनमा राख्नुपर्छ । आइरन र फोलिक एसिडबाहेक जथाभावी औषधिको सेवन गर्नुपरेमा सम्बन्धित चिकित्सकको परामर्शले मात्र गर्नुपर्छ । बालबच्चाको मिर्गौला बिगार्ने मुख्य कारण पिसाब बन्द भइराख्नु तथा पिसाब फेर्दा समस्या हुनु हो । यदि बालबालिकाहरूलाई पिसाबको समस्या आइरहेमा मिर्गौलाको समस्याको संकेत हो । पिसाबमा संक्रमणका कारण समस्या आइरहेमा तुरन्त चिकित्सकको परामर्श लिई उपचार गराइहाल्नुपर्छ ।

कति अभिभावकले बच्चाको पिसाबमा संक्रमण हुँदा त्यति ध्यान नदिएका कारण पछि गएर मिर्गौला बिग्रेका प्रशस्तै उदाहरणहरू छन् । ‘चिकित्सकले पिसाब संक्रमण ठीक गर्न दिएका औषधिहरू नियमित नखुवाउने गरेको तर पिसाब पोल्यो भन्थ्यो पछि ठीक भयो, त्यसैले मैले त छोरालाई चिकित्सकले दिएको औषधि सबै मात्रामा खुवाइनँ’ भन्ने सुनिन्छ । यसो गरियो भने बालबालिकाको मिर्गौलाले पछि गएर एक्कासि काम नगर्न सक्छ । त्यतिखेर पछुताउनुभन्दा अरु कुनै उपाय बाँकी हुँदैन ।

आगोले जलेमा, जलवियोजन हुँदा, निरन्तर रगत बगेमा तथा चोटपटकले बालबालिकाको रक्तचाप कम भई मिर्गौलामा रगत प्रवाह कम हुँदा पनि अल्पकालीन रूपमा मिर्गौला बिग्रन सक्छ । अल्पकालीन रूपमा बिग्रेको मिर्गौलालाई समयमा हेमोडायलाइसिस (रगत शुद्ध गर्ने प्रक्रिया) नभए पानीबाट गर्ने डायलाइसिसमार्फत उपचार गरे निको हुने सम्भावन धेरै हुन्छ । बालबालिकामा हुने सबै प्रकारको मिर्गौला रोगको उपचार नेपालमा सम्भव छ । मिर्गौलाले करिब ८० प्रतिशत काम नगर्दा पनि लक्षण थाहा नहुन सक्छ । जब लक्षण थाहा भएर चिकित्सककहाँ पुगिन्छ, त्यतिखेर धेरै ढिला भइसकेको हुन्छ र बाँच्ने उपाय भनेको मिर्गौला प्रत्यारोपण गर्नु वा आजीवन डायलाइसिसमा बस्नु मात्र हो । जुन एकदमै खर्चिलो र झन्झटिलो हुन्छ ।

नेपाल सरकारले मिर्गौला रोगलाई प्राथमिकतामा राखी नि:शुल्क उपचार सुविधा प्रदान गरिहेको छ । तर, उपचारले मात्र यो रोगको समाधान सम्भव छैन । रोकथामका उपायहरूमा पनि गम्भीर रूपमा ध्यान दिन जरुरी भइसकेको छ । बालबालिकामा पटकपटक पिसाबमा संक्रमण भइरह्यो भने यसमा बाबुआमा गम्भीर हुन जरुरी छ । सामान्य औषधिले उपचार गरेर केही समयका लागि निको भए पनि यो समस्या किन आइरहेको छ भन्न थप उपचारको जरुरी हुन्छ । यस्ता समस्यालाई चुप लागेर बस्यौँ भने पछि गएर मिर्गौलामा गम्भीर असर परी मिर्गौला नै बिग्रन जान्छ ।

बालबालिकाले कहिलेकाही पिसाब फेर्दा रगत गयो भने सो किन भयो वा सामान्य संक्रमणबाट भएको हो वा अन्य के कारणले, त्यसबारे थाहा पाउन चिकित्सकको परामर्श लिइहाल्नुपर्छ । पिसाब वा रगत जाँचेर, भिडियो एक्सरे वा परेमा मिर्गौलाबाट सानो मासुको टुक्रा निकालेर बायोप्सी जाँच गरेर पनि मिर्गौला रोगको अवस्थाबारे थाहा हुन्छ ।

बालबच्चामा देखिने अर्को समस्या भनेको नेफ्रोटिक सिन्ड्रोम हो । यो भनेको बालबच्चाको पिसाबबाट प्रोटिन जाने हो । यो समस्या वंशाणुगत हुने सम्भावना धेरै हुन्छ । यसरी प्रोटिन गइरह्यो भने भित्रभित्रै मिर्गौलालाई बिगार्ने हुँदा यसमा सचेत हुन जरुरी छ । कतिपय बालबालिका जन्मदै एउटा मात्र मिर्गौला लिएर जन्मेका हुन्छन् । यसो भएमा अत्तिनु हुँदैन । दुईवटै मिर्गौला भएको बच्चा जस्तै उसले पनि जीवन यापन गर्न सक्छ । त्यस्ता बच्चालाई उचित परामर्श दिनुपर्छ । नभए त्यस्ता बच्चालाई भविष्यमा मानसिक समस्या पनि हुन जान्छ । कसैको जन्मजात नै मिर्गौला ठीक स्थानमा नभई अन्य स्थानमा हुने, नली सुन्निने, मिर्गौलामा पानीका फोकाहरू (सिस्ट) हुने, पिसाब थैलीमा समस्या हुने तथा जन्मेको केही समयपछि पत्थरी हुने हुन सक्छ तर आमाबाबुहरू यसो हुँदैमा अत्तिनुहुँदैन । समयमै उपचार गरे यी समस्याबाट मुक्ति पाइन्छ ।

बालबच्चाको मिर्गौला जोगाउन स्वस्थ खाना खुवाउने बानी बसाल्नुपर्छ । फोहोरका कारण पनि पिसाबमा संक्रमण हुन सक्ने भएकाले सरसफाइमा विशेष ध्यान दिन जरुरी छ । नियमित पानी पिउने बानी सिकाउनुपर्छ । लामो समयसम्म पिसाब रोकेर राख्नुहुँदैन । साथै, बच्चा ९–१० वर्षसम्म पनि ओछ्यानमा पिसाब फेरिरहन्छ भने पनि चिकित्सकको परामर्श लिनुपर्छ । नियमित रूपमा वर्षको एकपटक मिर्गौलाको सामान्य जाँच गराउनुपर्छ । नियमित शारीरिक व्यायाम तथा पोसिलो खानेकुरा खुवाउनुपर्छ जसले गर्दा बालबच्चाको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।

नेपाल सरकारले मिर्गौला रोगलाई प्राथमिकतामा राखी नि:शुल्क उपचार सुविधा प्रदान गरिहेको छ । स्थानीय निकायको सिफारिसमा तोकिएका स्वास्थ्य संस्थाहरूबाट नि:शुल्क डायलाइसिस, मिर्गौला प्रत्यारोपण, औषधिलगायत अल्पकालीन मिर्गौला रोगको उपचारमा सहायता प्रदान गरिरहेको छ । डायलाइसिस गर्ने र प्रत्यारोपण गरिसकेका व्यक्तिहरूलाई मासिक ५ हजार जीवीकोपार्जन भत्ता उपलब्ध गराइरहेको छ । तर, उपचारले मात्र यो रोगको समाधान सम्भव छैन । रोकथामका उपायहरूमा पनि गम्भीर रूपमा ध्यान दिन जरुरी भइसकेको छ ।

शैक्षिक संस्थाहरूमा नि:शुल्क मिर्गौला परीक्षण कार्यक्रम सञ्चालन गरी बालबालिकालाई यो रोगबारे जानकारी दिन अति आवश्यक छ । मिर्गौला बिगारेपश्चात् हुने महँगो उपचार खर्च प्रदान गर्न सरकार तत्पर छ तर आमनागरिक वा बालबच्चाको मिर्गौलाको अवस्था सुरुवाती चरणमै पत्ता लगाउने अभियानमा बेखबर छ । आमाबाबुको सामान्य गल्ती तथा हेलचेक्र्याइँले भविष्यका कर्णधार बालबालिकाको मिर्गौलाले काम नै गर्न नसक्ने अवस्थासम्म पुग्ने हुन्छ । त्यसैले हामी सबै अहिलेदेखि नै सचेत हुन जरुरी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार