धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार आजै छोड्न आफ्ना प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिएकी छन् । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्री बर्खास्त गरेका मुख्यमन्त्री शाहले हिजो राति मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
उनले मन्त्रिपरिषद्मा नागरिक उन्मुक्तिका दुई मन्त्री र एक राज्यमन्त्री थपेका हुन् । नाउपाबाट घनश्याम चौधरीलाई आर्थिक मामिला र खुसीराम चौधरी विनाविभागीयमन्त्री बनाइएको हो । इन्दिरा गिरीलाई भने राज्यमन्त्री बनाइएको हो । उनीहरूले हिजै राति सपथ लिएका हुन् ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले आफूसँग कुनै सरसल्लाह नै नगरी शुक्रबार मध्यराति सरकारमा किन गएको भन्दै पार्टी अध्यक्ष चौधरीले संसदीय दलका नेता घनश्याम चौधरीलाई आजै सरकार छोड्न निर्देशन दिएकी हुन् ।
उनीहरूले तत्काल सरकार नछोडे पार्टीले कारबाही गर्ने अध्यक्ष श्रेष्ठले बताइन् ।
प्रतिक्रिया दिनुहोस्