रौतहट : माघमा ९ गते जिल्ला प्रशासन कार्यालय रौतहटले रिनाकुमारी पासवान र मिटरब्याजी साहु छटुलाल कलवारलाई बोलाएर सहमति गराउन छलफल गर्यो। कलवारले पीडितले २ लाख नदिएसम्म मिलापत्र नगर्ने अडान लिए।
पीडित रिनाकुमारीले पनि आफूले लिएको ऋण तिरिसकेकाले फेरि २ लाख रुपैयाँ दिन नसक्ने बताइन्। त्यस दिन मिटरब्याजी कलवार र पीडित रिनाकुमारीबीच मिलापत्र नभई छलफल टुंगियो। यत्तिकै घर फर्किए।
‘मैले पहिला नै ३ लाख रुपैयाँ बुझाइसकेकी छु। अब कहाँ दिन सक्छु र फेरि २ लाख,’ उनी सुनाउँछिन्, ‘मैले १ लाख २० हजार रुपैयाँ लिएको २ वर्ष भित्रमा ३ लाख रुपैयाँ बुझाएँ। तर साहुले मेरो जमिन फिर्ता गर्न मानेन।’
रिनाकुमारीले घरायसी खर्च गर्नका लागि ९ वर्षअघि १ लाख २० हजार रुपैयाँ कलवारसँग मिटरब्याजमा ऋण लिएकी थिइन्। ऋण दिनेबेला मिटरब्याजी साहुले कपाली तमसुक बनाएर २ कठ्ठा जमिन दृष्टिबन्धकमा राख्न लगाएका थिए।
ऋण लिएको २ वर्षपछि ज्यालामजदुरी गरेर कमाएको रकम जम्मा गरेर साहुलाई ३ लाख रुपैयाँ बुझाएकी थिइन्। तर मिटरब्याजी साहुले उनको २ कठ्ठा जमिन फिर्ता गर्न मानेनन्। अझै थप २ लाख रुपैयाँ मागिरहेको रिनाकुमारी बताउँछिन्। उनले आफूले थप २ लाख रुपैयाँ दिन नसक्ने भएपछि साहुले उनको २ कठ्ठा जमिन हडपेर आफैं खेतीपाती गर्दै आइरहेका थिए।
यस्तै सरकारले गत वैशाखमा मिटरब्याज पीडितको न्यायका लागि अनुचित लेनदेन जाँचबुझ आयोग बनाएको थियो। त्यो आयोगमा मिटरब्याज पीडितहरुले उजुरी गर्ने र उजुरीपछि आयोगले नियमानुसार मिलापत्र गराउने व्यवस्था गरेको छ।
उक्त आयोगमा रिनाकुमारीले पनि उजुरी दर्ता गराएकी थिइन्। तर आयोगको कार्यकालको समयअवधि सकिएपछि आयोगमा परेका उजुरी जिल्ला प्रशासन कार्यालयले हेरेर मिलापत्र गराउँदै आएको छ।
सोहीअनुसार रिनाकुमारीको उजुरीमा छलफल गर्ने क्रममा साहु पीडितबीच सहमति भएन। जिल्ला प्रशासनमा कुरा नमिलेपछि मिटरब्याजी साहु कलवार र पीडित रिनाकुमारीबीच विवाद बढ्न थाल्यो। बाटोमा भेट्दा पनि रिनाकुमारीलाई साहु कलवारले कुटपिट तथा गालीगलौज गर्न थाले।
रिनाकुमारीकी छोरी कक्षा ४ मा अध्ययनरत सुवीकुमारी पासवानलाई विद्यालयबाट फर्किरहेका बेला साहु कलवारले कुटपिट गरेर साइकलसमेत खोसेको उनले बताइन्।
‘मेरी छोरीको नयाँ लेडिज साइकल थियो। साहुको खेत छेउमा रोड छ, रोडको छेउमा स्कुल छ। स्कुलबाट फर्किँदा साहुले खोसेर लिएछ। बेस्सरी पिटेछ पनि,’ उनले भनिन्। गत माघ १९ गते रिनाकुमारीलाई साहु कलवारले घरमै आएर फलामको रडले हानेर कुटपिट गरे।
उनको हात मर्कियो। त्यसपछि प्रहरीमा उजुरी पनि गर्न गइन् तर त्यहाँका प्रहरीले २० हजार रुपैयाँ दिए साहुसँग मिलापत्र गराउने भनेको उनी सुनाउँछिन्। ‘साहुले छडले हानेर हात मर्काइदिए, उजुरी गर्न जाँदा प्रहरीले २० हजार रुपैयाँ दिए मिलाइदिन्छु भने। म जस्तो गरिब दुई छाक टार्न मुस्किल छ २० हजार रुपैयाँ कसरी दिन सक्छु। प्रहरीले नै घुस माग्छन्, कहाँ गएर मैले न्याय पाउने?,’ उनको गुनासो छ।
त्यसपछि उनी उपचारको लागि नजिकैको अस्पताल गइन्। नजिकैको अस्पतालमा एक्सरे नभएको र उपचार नहुने भएपछि स्वास्थ्यकर्मीले रिनाकुमारीलाई वीरगञ्ज जानु भनेर पठाइदिए। त्यसपछि उनी अर्को दिन छोरीलाई साथ लिएर वीरगञ्जको अस्पताल गइन्।
त्यहाँ उपचार गराउँदा ५/६ हजार रुपैयाँ सकियो। त्यतिबेला मिटरब्याज पीडितहरु पैदल हिँडेर काठमाडौं आउने तयारीमा थिए। उनी पनि घर नगई अस्पतालबाटै पैदलयात्रामा सहभागी भइन् र काठमाडौं आइन्। उनी सँगै कक्षा ४ मा अध्ययनरत छोरी पनि काठमाडौं आइन्।
‘छोरी पनि मसँगै अस्पताल गएकी थिई। त्यतैबाट आयौं। हामीले न खानेकुरा बोकेका थियौं न लाउने कपडा नै। रित्तो आइपुग्यौं। हामीसँगै आएका दिदीबहिनीहरुले दिनुभएर लुगा लगायौं,’ उनी भन्छिन्। उनको भएको २ कठ्ठा जमिन साहु कलवारको कब्जामा छ। ५ छोरी एक छोरा र श्रीमान्श्रीमती गरी ८ जनाको परिवार छ। श्रीमान्ले महाजनको खेतीबारीमा ज्यालामजदुरी गरेको भरले परिवार चल्दै आएको छ।
‘मेरो श्रिमान्ले ज्यालामजदुरी गरेर घरपरिवार चल्दै आएको छ। अब दिनदिनै काम गर्ने क्षमता घट्दै छ। आफ्नो खेत साहुको नाममा छ। साहुले जोतिरहेको छ २ कठ्ठा खेत,’ उनले भनिन्।(नेपाल लाइभ)
प्रतिक्रिया दिनुहोस्