धनगढी : साेमबार दिउँसाे नयाँबानेश्वरस्थित संसद भवनमा लघुवित्तपीडितहरू छिरेर प्रदर्शन गरेकाे घटनाले सिंहदरबारमा हलचल ल्याएकाे छ । घटनाबारे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबै सुरक्षा निकायका प्रमुख र गृहमन्त्रालयका उच्च अधिकारीहरूसँग सोधपुछ गरेका छन् ।
उनले काठमाडौंका सबै सुरक्षा प्रमुखसहितलाई मन्त्रालयमा बोलाएर घटनाबारे जानकारी लिएका हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक, काठमाडौं जिल्ला प्रहरी प्रमुख, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुखलगायतका अधिकारीहरूलाई गृहमन्त्री श्रेष्ठले आकस्मिक रूपमा मन्त्रालयमा डाकेका हुन् ।
उनीहरूलाई मन्त्री श्रेष्ठले गम्भीर कमजोरी कसरी भयाे भनेर प्रश्न गरेका छन् । प्रकरणकाे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले तीन सदस्यीय छानबिन समिति बनाइसकेको छ ।
देशभरका लघुवित्तपीडितहरू केही दिनदेखि काठमाडाैंमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले साेमबार दिउँसाे संसद भवन परिसरमा नाराबाजी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्