कैलालीको भजनीमा पानी अभावले रोपाइँ गर्न ढिलाइ

कैलाली: कैलालीको भजनी नगरपालिका–२ का रामप्रसाद चौधरी गत वर्ष अहिलेको समयमा खेतमा निकै व्यस्त थिए। आकाशे पानीको भरमा खेती गर्दै आएका उनी यस वर्ष भने फुर्सदमा छन्। समयमा वर्षा नभएपछि धान रोप्न नपाएका चौधरीको दिनचर्या पानी पर्छ कि भन्ने आशमै बित्ने गरेको छ।

‘खेती लगाउने समय ढल्किन लागेको छ। ब्याड राखेको पनि एक–डेढ महिना भइसकेको छ,’ चौधरी भन्छन्, ‘बोरिङ आफूसँग छैन। पालो लगाएर ब्याडमा पानी लगाउनै ठिक्क हुन्छ। आकाशबाट पानी पर्ने सुरसार अझै छैन। धान रोप्न ढिलाइ भएको छ।’ यस वर्ष मनसुन सक्रिय हुन ढिलाइ भएका कारण चौधरीजस्तै अन्य किसानले पनि समयमा धान रोप्न पाएका छैनन्।

Dengue

भजनीको अधिकांश खेतीयोग्य जमिनमा वर्षाको पानीको भरमा खेती हुन्छ। केही किसानले बोरिङ गरी जमिनमुनिको पानी तानेर सिँचाइ गर्दै आएका छन्। भजनीकै हरिराम चौधरीले १५ बिघा क्षेत्रफलमा धान रोप्ने तयारी गरेका छन्। सबै काम सम्पन्न गरेर रोपाइँको तयारीमा बसेका उनी पानीको पर्खाइमा छन्।

‘अहिलेसम्म आधाभन्दा बढी रोपाइँ गरिसक्नुपर्ने हो। मौसमका कारण खेतमा जान सकिएको छैन,’ चौधरीले भने, ‘यस वर्ष समस्या होला जस्तो छ। अर्को खेती लगाउन समय लाग्ने देखिएको छ।’ गाउँघरतिर किसानले आलोपालो खेतीको काम गर्दै आएका छन्। त्यसरी काम गर्दा ज्याला बच्ने र समूहमा काम हुने भएकाले त्यो प्रायः परम्पराजस्तै छ।

यस वर्ष भने सबैको कामसँगै पर्ने भएपछि त्यो आलोपालोमा काम हुने अवस्था नरहेको लक्ष्मण थारु बताउँछन्। ‘सबैले खेत जोत्ने काम गरिसकेका छन्। कतिपयको ब्याड पनि रोप्ने समयभन्दा ढल्किसकेको छ,’ लक्ष्मण भन्छन्, ‘गाउँमा हामी सबै किसान छौं। आफ्नो काम छोडेर अरुको काम गर्न जाने कोही होइन।

त्यसकारण पनि धान रोपाइँमा ढिलाइ हुने देखिएको छ।’ भजनी नगरपालिका कृषि क्षेत्रका लागि कैलाली जिल्लाकै महत्त्वपूर्ण क्षेत्र हो। कृषिका लागि महत्त्वपूर्ण क्षेत्र भए पनि सिँचाइ सुविधा भने राम्रो छैन। चारैतिरबाट नदीले घेरिएको क्षेत्रमा एउटा मात्रै सिँचाइ आयोजना लागू भएको छ। जसले एक तिहाइ क्षेत्रलाई समेट्न सकेको छैन। किसानको सिँचाइको माध्यम त्यहीँ बोरिङ मोटर नै हो।

बर्सातको समयमा बाढी र डुबानले विकराल रुप लिने गरेको छ। कैयौं वर्ष किसानले लगाएको धान बाली बाढीमै विलय भएको इतिहास साक्षी रहेको स्थानीयको धारणा छ। ‘सिँचाइको समस्या छ। बर्सातको समयमा सबै क्षेत्र जलमग्न हुने भजनी अन्य समयमा पानी पाउँदैन,’ स्थानीय कलशराम डङ्गौरा भन्छन्, ‘सिँचाइ सुविधाको लागि सरकारले बोरिङ मोटर अनुदानमा किसानलाई वितरण त गरेको छ तर बिजुलीको महसुलमा भने छुट गरेको छैन।’

वर्षे धानको तयारी गरेका किसानलाई वर्षा नहुँदा समस्या भए पनि चैते धान रोपेका किसानलाई भने अहिलेको मौसमले फाइदा पु¥याएको छ। किसानले चैते धान भित्र्याउने समय भएकाले मौसम सफा हुँदा फाइदा भएको दिनेश बोहरा बताउँछन्। ‘पानी परेको भए धान सुकाउन समस्या हुन्थ्यो। भित्र्याउन कठिन हुने थियो। यस वर्ष मौसमले साथ दिएको छ,’ उनले भने, ‘मौसम राम्रो भएका कारण विगतमा भन्दा यस वर्ष चैते धानको उत्पादन पनि राम्रो हुने देखिएको छ।’

भजनी क्षेत्रमा मात्रै अधिकांश किसानले चैते धानको खेती गर्दै आएका छन्। वर्षातको समयमा बाढी र डुबानको बढी जोखिम भएको क्षेत्रमा चैते धानको खेती फस्टाएको छ। फागुनको अन्तिमतिर रोपेको चैते धान यतिबेला किसानलाई भित्र्याउन भ्याइँनभ्याइँ छ। बाढी र डुबानको क्षति कम भएको खण्डमा किसानले २ पटक त्यहीँ एकैपटक रोपेको धान भित्र्याउने गरेका छन्। बाढीले क्षति नपु¥याए भदौमा पुनः त्यहीँ धान फल्ने गरेको छ। रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार