काठमाडौँ – नेपाल र चीनबीचको व्यापार अझै लयमा फर्किन सकेको छैन । नेपालमा २०७२ वैशाखमा गएको विनाशकारी गोरखा भूकम्प र चीनबाट तीन वर्षअघि फैलिएको कोभिड–१९ महामारीको असर दुई देशको व्यापारमा नराम्रोसँग देखिएको छ ।
दुई देशबीच व्यापारका लागि सञ्चालनमा रहेका दुई भन्सार नाका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी स्वभाविक अवस्थामा फर्किन सकेका छैनन् भने अन्य जिल्लामा खोल्न प्रस्ताव गरिएका नाकाको कार्यप्रगति नगण्य छ ।
सामान्य अवस्थामा दुई देशबीच वार्षिक रु साढे दुई खर्बभन्दा बढीको वैदेशिक व्यापार रहेको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ तर चीनसँगको व्यापारमा जोडिएका नेपालका दुई भन्सार कार्यालय तातोपानी र रसुवागढीको अवस्था पछिल्ला वर्षहरुमा निकै कमजोर छ । विसं २०७२ को भूकम्पपछि थलिएको सिन्धुपाल्चोकको तातोपानी नाका अझै लयमा फर्किन सकेको छैन । भूकम्प अघि वार्षिक रु डेढ खर्ब बराबरको कारोवार तातोपानी भन्सार बाट हुन्थ्यो । जसबाट सरकारले वार्षिक करिब रु छ अर्ब राजस्व उठाउने गरेको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ ।
चालु आर्थिक वर्षको पाँच महिनाअर्थात् गत मङ्सिर मसान्तसम्ममा तातोपानी भन्सारबाट रु चार अर्ब ४२ करोड २४ लाख २३ हजार बराबरको वस्तु आयात भएको देखिन्छ । नेपालबाट चीनमा हुने वस्तु निर्यात भने शून्य छ ।
तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीका अनुसार अहिले त्यहाँ मासिक औसत २४ करोड बराबर राजस्व उठ्ने गरेको छ । “अहिले दैनिक तीनवटासम्म कन्टेनरमा सामान चीनबाट आउने गरेको छ । चीनबाट मुख्य गरी स्याउ नेपाल आउँछ । अरु व्यापारिक सामान आएका छैनन्”, उहाँले भन्नुभयो । नेपालबाट चीनमा हुने निर्यात खुलाउनका लागि ल्हासास्थित नेपाली वाणिज्य दूतावासबाट पहल भइरहेको भए पनि कहिले खुल्ने यकिन नरहेको भन्सार अधिकृत केसी बताउनुहुन्छ ।
कुनै समय तातोपानी भन्सार कार्यालय सञ्चालनका लागि ८० देखि ८५ जनासम्म कर्मचारी खटिने गरेका थिए । अहिले १४ जना कर्मचारी मात्रै त्यहाँ छन् । विसं २०७२ सालको भूकम्पका कारण तातोपानी नाकाको चीनतर्फको क्षेत्र खासा बजार पनि निकै प्रभावित भएको थियो । अहिले उक्त बजार पूर्णरुपमा बन्द छ । चीनले त्यहाँबाट बस्तीसमेत हटाइसकेको छ । भौगर्भिक अध्ययन पछि उक्त क्षेत्र मानव बसोबासका हिसाबले असुरक्षित देखिएको जनाउँदै चीनले बस्ती सारेको हो । अहिले त्यहाँ चिनियाँ सुरक्षाकर्मीको क्याम्प मात्र रहेको छ । चीनतर्फको भन्सार कार्यालयसमेत हटिसकेको छ । खासा क्षेत्रमा बजार बसाउन भौतिक संरचना निर्माण र सडक सञ्जाल निर्माणमा चीनले चासो देखाएको छैन । नेपालका लागि चीनसँगको व्यापारमा रसुवागढी भन्सार भन्दा तातोपानीबाट सामान आयात गर्दा ढुवानी भाडा सस्तो हुने र पूर्वाधारका हिसाबलेसमेत त्यहाँ उपयुक्त भए पनि चीनको बेवास्ताका कारण त्यहाँबाट हुने व्यापार खुम्चिँदै गएको छ ।
रसुवागढी–केरुङ नाकाबाट हुने व्यापारमा पनि चीनले लामो समय रोक लगाएको थियो । कोभिड महामारीपछि ठप्प प्रायः रहेको उक्त नाका गत पुस दोस्रो साताबाट खुलेको थियो तर व्यापारमा भने उल्लेख्य सुधार देखिँदैन । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार करिब एक महिना अवधिमा नेपालबाट ३९ कन्टेनर सामान चीन निर्यात भएको छ । “नेपालबाट अहिलेसम्म करिब रु छ करोड बराबरको ३९ कन्टेनर सामान चीनतर्फ गएको छ ।
चीनबाट भने दैनिक १४ कन्टेनर सामान नेपाल आउने गरेकोमा आजबाट त्यो पनि बन्द भएको छ”, भन्सार अधिकृत भण्डारीले भन्नुभयो । चीनले नयाँ वर्षका लागि भनेर आगामी फेब्रुअरी ३ सम्म नाका बन्द गरेको उहाँले जानकारी दिनुभयो ।
पलायन भए व्यवसायी
कुनै समय गुल्जार रहने तातोपानी क्षेत्र भूकम्पपछि सुनसान हुँदा त्यहाँबाट व्यवसायी पलायन हुनुपरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठ बताउनुहुन्छ । “त्यहाँको व्यापार, होटल, पर्यटनलगायतको व्यवसाय ठप्प भएपछि व्यवसायी पलायनको विकल्प रहेन । ठूला व्यापारी मात्र होइन सानो व्यापार व्यवसाय चलाउने, सवारी चालक, लोड अनलोड गर्नेहरु बेरोजगार भए ।”, उहाँले भन्नुभयो ।
तातोपानी–खासा नाका बन्द भएपछि कैलाश मानसरोवर जानका लागि त्यहाँ पुग्ने पर्यटक पनि शून्य भएको श्रेष्ठले बताउनुभयो । नाका खुलाउन र व्यापार बढाउनका लागि नेपालले कूटनीतिक पहल नगर्दा पनि चीनले बेवास्ता गरेको व्यवसायीको बुझाइ छ । “भूकम्पपछि बन्द भएको तातोपानी नाका २०७६ साल जेठमा उद्योगमन्त्री नै गएर उद्घाटन गर्नु भएको थियो । तर पछि कोभिडले फेरि बन्द भयो । पहिले दैनिक सय कन्टेनरसम्म आवतजावत हुने गरेकोमा अहिले मुस्किलले तीनवटा हुन्छ । नाका सहज बनाउन लागि कूटनीतिक रुपमै पहल हुन सकेन ।”, उहाँले भन्नुभयो ।
अन्य नाका अध्ययनमा मात्रै सीमिति
तातोपानी र रसुवागढीबाहेक अन्य वैकल्पिक नाका खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न नेपाल र चीनबीच सात वर्षअघि सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । नेपाल–चीन द्विपक्षीय व्यापारका लागि विभिन्न सात वटा ठाउँमा नाका खुलाउन सम्भाव्यता अध्ययनका लागि २०७२ कात्तिक १९ गते दुई देशबीच सहमति भएको थियो ।
ताप्लेजुङको ओलाङचुङगोला, सङ्खुवासभाको किमाथांका, मुस्ताङको कोरला, गोरखाको लार्के, दोलखाको लामाबगर, हुम्लाको यारी र मुगुमा नाका सञ्चालनमा ल्याउन सम्भाव्यता अध्ययन गर्ने उक्त सहमतिपत्रमा उल्लेख छ । सहमतिअनुसार नाका सञ्चालनका लागि सम्भाव्यता अध्ययन भने अझै हुन सकेको छैन । नाका सञ्चालनका लागि सडक सञ्जाल जोड्ने र भौतिक संरचना आवश्यक पर्ने भएकाले त्यस्ता संरचना निर्माणका लागि पनि पहल हुन सकेको छैन । (रासस)
प्रतिक्रिया दिनुहोस्